सरकारले कार्बनबाट भएको आम्दानीको नवीकरणीय ऊर्जा प्रवर्द्धनमा खर्च गर्ने

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले कार्बन आम्दानीबाट उठेको रकम नवीकरणीय ऊर्जा प्रवर्द्धनमा लगाउने भएको छ ।

वैकल्पिक ऊर्जा विकास समितिका अध्यक्ष एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा वैकल्पिक ऊर्जा विकास समितिको बिहीबार साँझ बसेको बैठकले नवीकरणीय ऊर्जा प्रवर्द्धनमार्फत प्राप्त कार्बन आम्दानीलाई सोही क्षेत्रका थप कार्यक्रममा प्रवर्द्धन गर्ने निर्णय गरेको हो ।

बैठकले कार्बन आम्दानीलाई घरायसी, सामुदायिक एवं ठूला वायोग्यास, सौर्य सिँचाइ, लघु तथा साना जलविद्युत्, घरायसी तथा संस्थागत विद्युतीय चुलो प्रवर्द्धन तथा नवीकरणीय ऊर्जा प्रविधिको मर्मतसम्भार र क्षमता अभिवृद्धिमा लगाउने निर्णय गरेको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले जानकारी दिए ।

यस्तै, बैठकले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यस्थलमा हुने यौनजन्य शोषण, दुरुपयोग र दुव्र्यवहार (निवारण) आचारसंहिता, २०८१ स्वीकृति गर्ने निर्णय गरेको छ । साथै, केन्द्रअन्तर्गत सञ्चालित हरित जलवायु कोषको कार्यक्रमको प्रभाव मूल्याङ्कन गर्न प्राविधिक सहयोगका लागि हरित जलवायु कोषसँग समझदारीपत्रमा हस्ताक्षर गर्न केन्द्रका कार्यकारी निर्देशकलाई स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

बैठकमा समितिका अध्यक्ष एवं ऊर्जामन्त्री खड्काले स्वदेशमा विद्युत् खपत वृद्धि गर्ने सरकारले लिएको लक्ष्य पूरा गर्नका लागि केन्द्रले नयाँ सोच एवं कार्यक्रम ल्याउन जरुरी रहेको बताएको मन्त्री खड्काको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी केन्द्रका नायब कार्यकारी निर्देशक डा नारायण अधिकारीले जानकारी दिए ।

यस्तै, बैठकले सन् २०२५ को जनवरी २६ मा ‘अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस’ मनाउने प्रस्ताव स्वीकृत गरेको छ । संयुक्त राष्ट्रसङ्घले सन् २०२३ देखि उक्त दिवस मनाउने घोषणा गरेको थियो ।

ऊर्जामन्त्री खड्काले घरायसी प्रयोजनमा प्रयोग भइरहेको एलपिजी ग्यासलाई विस्थापनका लागि विभिन्न खाना पकाउने स्वच्छ ऊर्जा प्रविधि र विद्युतीय चुलोलाई थप प्रभावकारी एवं व्यापक रूपमा विस्तार गर्ने कार्यक्रम ल्याउन केन्द्रलाई निर्देशन दिएका थिए ।

वाइडबडी जहाज खरिदमा डेढ अर्ब भ्रष्टाचार, विदेशीसहित ११ दोषी ठहर Read Previous

वाइडबडी जहाज खरिदमा डेढ अर्ब भ्रष्टाचार, विदेशीसहित ११ दोषी ठहर

दाङमा ४ महिनामै २६३ उद्योग बन्द Read Next

दाङमा ४ महिनामै २६३ उद्योग बन्द