काठमाडौं । नेपाल र चीन सरकार बीच बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआइ) कार्यान्वनय बारे सहमति जुटेको छ ।
बुधबार दुई देश बीच चीनले बीआरआई कार्यान्वयन योजनाको विकल्पमा नेपालले प्रस्तुत गरेको ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेसन’ मा हस्ताक्षर भएको हो ।
बेइजिङमा आज भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले हस्ताक्षर गरेका हुन् ।
यसअघि मंगलबार नेपालले प्रस्ताव गरेको फ्रेमवर्कमा चिनियाँ पक्षले रिजर्भेसन राख्दा हस्ताक्षर हुन सकेको थिएन । तर, दुवै देशका अधिकारीहरुले थप छलफल गरी सहमति जुटाएका हुन् ।
यससँगै नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई औपचारिक रुपमा अघि बढाउने बाटो खुलेको छ ।
फ्रेमवर्कको भाषामा अनुदान (ग्रान्ट) को सट्टा सहायता (एड) शब्द राखेर सहमति गरिएको बताइएको छ । यद्यपि यसको पूर्ण विवरण भने आइसकेको छैन ।