कालीगण्डकी कोरिडोर एक साता बन्द हुने

गुल्मी । निर्माणाधीन कालीगण्डकी कोरिडोरमा एक साता सवारी आवागमन बन्द हुने भएको छ । कालीगण्डकी कोरिडोर योजनाअन्तर्गत गुल्मीको हर्मिचौरदेखि बागलुङको बलेवा सडकखण्डमा एक साताका लागि सवारी आवागमन बन्द हुन लागेको हो ।

कालीगण्डकी कोरिडोर (गैँडाकोट-राम्दी-मालढुङ्गा) सडक योजनाले जिल्ला प्रशासन कार्यालय गुल्मी, पाल्पा र बागलुङलाई पत्राचार गरी यही मङ्सिर १९ गतेदेखि एक साताका लागि सडक बन्द हुने जानकारी दिएको छ ।

उक्त सडक योजनाअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ स्थित अर्बेनी–हर्मिचौ सडकखण्डमा पर्ने गरगरेको जोखिमयुक्त भिर काट्नुपर्ने भएकाले उक्त सडकमा सवारी आवागमन बन्द हुन लागेको कालीगण्डकी कोरिडोर सडक योजनाका इञ्जिनियर अरुण खत्रीले जानकारी दिए ।

प्रत्येक दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म उक्त सडक बन्द हुने छ । यात्रु तथा सवारी साधनको सहजताका लागि हर्मिचौर–मिर्मी–आधिदोभान हुँदै पुर्तिघाटतर्फको सडक प्रयोग गर्ने गरी आवश्यक सहजीकरणका लागि उक्त सडकअन्तर्गत पर्ने स्थानीय जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिएको छ ।

सडक बन्द हुने भएपछि कालीगण्डकी गाउँपालिकाले पनि सरोकारवाला यात्रु तथा सवारी साधनलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ग्लोबल आइएमई बैंकका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट पाउने Read Previous

ग्लोबल आइएमई बैंकका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट पाउने

नेपाल र चीन बीच बीआरआइमा जुट्यो सहमति, ‘फ्रेमवर्क’मा हस्ताक्षर Read Next

नेपाल र चीन बीच बीआरआइमा जुट्यो सहमति, ‘फ्रेमवर्क’मा हस्ताक्षर