
काठमाडौं । नागरिक लगानी कोषका सहभागीहरूले अब बचत रकमको ९० प्रतिशतसम्म ऋण सापटी पाउने भएका छन् । कोषले कोषमा आबद्ध सदस्यहरुको सुविधाको लागि सापटीको सीमा बढाएको हो ।
यसअघि कोषमा आबद्ध सदस्यले आफ्नो नाममा जम्मा रहेको बचत रकमको ८० प्रतिशतसम्म ऋण सापटी पाउँथे ।
त्यस्तै, कोषले अब सबै शाखा कार्यालयहरूबाट समेत आवास र सरल कर्जा उपलब्ध गराउने भएको छ । कोषले कोषमा सहभागीहरुलाई सबै शाखा कार्यालयहरुबाट निश्चित रकमसम्मको आवास र सरल कर्जा दिने व्यवस्था मिलाएको हो ।
यसअघि सबै शाखा कार्यालयहरुले आवास र सरल कर्जा स्वीकृतिको लागि कर्जाको कागजपत्र केन्द्रीय कार्यालयमा पठाउनु पर्ने व्यवस्था थियो ।
कोषका सहभागीलाई मोफसलबाट समेत यस्तो कर्जा लिन सहज होस् भन्ने उद्देश्यले कर्जा सुविधालाई सहज बनाइएको कोषले जनाएको छ ।
नयाँ व्यवस्थापछि निश्चित रकमसम्मको कर्जा अब शाखा कार्यालयबाट नै उपलब्ध हुने भएकोले सेवाग्राहीलाई कर्जा कारोबारमा सहजता मिल्ने अपेक्षा कोषले गरेको छ।