हेटौंडा औद्योगिक क्षेत्रका तीन उद्योगलाई कारबाही प्रक्रिया अघि बढाइयाे

बागमती । हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले लामो समयदेखि बन्द तीन उद्योगमाथि कारबाही प्रकृया अघि बढाएको छ । विगत तीन/चार वर्षदेखि बन्द रहेको नेपाल ब्रुअरी प्रालि, ग्रिन गोल्ड इन्टरनेशनल प्रालि र बानिया मल्टी प्रोडक्ट प्रालिमाथि औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको हो ।

विभिन्न कारणले बन्द रहेका ती उद्योग सञ्चालकलाई पटक-पटक पत्राचार गरिए पनि सम्पर्कमा आउन नचाहेकाले कारबाही प्रकृया अघि बढाइएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख सङ्गीता कुँवरले बताइन् ।

‘हामीले सञ्चालकलाई निरन्तर फोन र पत्रचार गरी बोलाइरहेका छौँ,’ प्रमुख कुवरले भनिन्, ‘तर तीमध्ये नेपाल ब्रुअरीका सञ्चालक सम्पर्कमा आउनुभएको छैन, ग्रीन गोल्ड र बानियाँ मल्टी प्रोडक्टका सञ्चालक केही समय सम्पर्क आएर उद्योग चलाउँछु भनेर जानुभएको थियो । त्यसपछि उहाँहरु पनि सम्पर्कमा आउनुभएन ।’

उद्योगका लागि जग्गा ओगटेर राख्ने तर उद्योग नचलाउने गरेकाले कारबाही प्रक्रिया अघि बढाएको प्रमुख कुँवरको भनाइ छ । कारबाहीस्वरुप नेपाल ब्रुअरी प्रालिको विद्युत् लाइन काटिएको र अन्य कारबाही प्रकृया अघि बढाइएको उनले जानकारी दिए ।

ग्रिन गोल्ड र बानिया मल्टी प्रोडक्ट उद्योगमा जडान गरिएको विद्युत् र खानेपानी लाइन काट्ने तयारी भइरहेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । कार्यालयसँग सम्झौता गरेर पनि लामो समयदेखि उद्योग सञ्चालन नगर्ने पाँच उद्योगको सम्झौता खारेज गरिएको छ ।

अमेरिकाको आर्थिक सहयोगमा विसं २०२० मा स्थापना भएको सो औद्योगिक क्षेत्रभित्र हाल १४४ उद्योग तथा प्रतिष्ठानले जग्गा भाडामा लिइ उद्योग सञ्चालन गरिरहेका छन् । कुल ३ हजार २२८ रोपनी क्षेत्रफलमा फैलिएको सो औद्योगिक क्षेत्रभित्र हाल १२ उद्योग निर्माणाधीन अवस्थामा छन् ।

कुल क्षेत्रफलमध्ये हाल भाडामा दिएको २ हजार १७८ रोपनी, खाली जमिन २६.५२ रोपनी र युटिलिटी सेवाले ओगटेको सडक सञ्जाल, विद्युतीकरण, ढल निकासलगायत संरचना निर्माण क्षेत्रफल ५९७ रोपनी रहेको छ । औद्योगिक क्षेत्रभित्र कार्यालयबाट निर्मित औद्योगिक भवन १०, गोदाम ११ र अन्य भवन ३४ ओटा रहेका छन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले औद्योगिक क्षेत्रहाताभित्रका उद्योग प्रतिष्ठानको आवश्यकता र मागका आधारमा औद्योगिक भवन, गोदाम, क्वाटर भवन र जग्गाको भाडा लिँदै आएको छ ।

मुलुककै सबैभन्दा ठूलो यस औद्योगिक क्षेत्रमा सुरक्षा चुनौती बढ्दो छ । औद्योगिक क्षेत्रको चारैतिर पर्खाल लगाउन नसक्दा सुरक्षा चुनौती बढेको कार्यालय प्रमुख कुँवरले बताइन्।

औद्योगिक क्षेत्रको बीचबाटै सार्वजनिक बाटो भएकाले सुरक्षा चुनौती बढेको उनको भनाइ छ । ‘हामीले पर्खाल लगाउन पटक-पटक प्रयास गर्यौँ, तर स्थानीयले अवरोध गर्दै आएका छन्,’ प्रमुख कुँवरले भनिन्।रासस

दिल्ली पुगेर उद्योगमन्त्रीले विदेशी लगानीकर्तालाई भने, 'नेपालमा लगानी गर्नुहोस्, प्रतिफल उच्च छ' Read Previous

दिल्ली पुगेर उद्योगमन्त्रीले विदेशी लगानीकर्तालाई भने, 'नेपालमा लगानी गर्नुहोस्, प्रतिफल उच्च छ'

नागरिक लगानी कोषमा आबद्ध भएकाले अब बचतको ९०% रकम सापटी पाउने Read Next

नागरिक लगानी कोषमा आबद्ध भएकाले अब बचतको ९०% रकम सापटी पाउने