काठमाडौं । गत असोजको ११ र १२ को अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको जनधनको क्षतिबाट बीमा कम्पनीहरुमा सवा १२ अर्ब रुपैयाँ बढीको दाबी परेको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार मंसिर १२ गतेसम्म १८ निर्जीवन बीमा कम्पनीमा कुल १२ अर्ब २६ करोड ४ लाख ६२ हजार ६६ रुपैयाँ बराबरको बीमा परेको हो । ३ हजार ५२९ विवेदनमार्फत उक्त रकम बीमा दाबी गरिएको हो ।
प्राधिकरणका अनुसार कुल दाबीमध्ये मंसिर १२ गतेसम्म ७८ करोड ९३ लाख ८ हजार ३०३ रूपैयाँ बराबरको दाबी भुक्तानी भएको छ । ३ हजार ५२९ निवदेनमध्ये हालसम्म १ हजार २१५ वटाको दाबी भुक्तानी गरिएको हो । ठूलो रकम बीमा दाबी भए पनि कम्पनीहरुले भने न्यून मात्रमा भुक्तानी गरेको देखिएको छ ।
यो रकम निर्जीवन बीमा कम्पनीहरुले चालु आवको ४ महिनामा गरेको कुल व्यवसायभन्दा २ अर्ब रुपैयाँ मात्रै कम हो । कात्तिकसम्म १८ कम्पनीले १४ अर्ब ३५ करोड ८६ लाख रुपैयाँको व्यवसाय गरेका छन् ।
एउटै कम्पनीमा पर्यो साढे २ अर्बको दाबी
बाढीपहिरोको क्षतिबाट एउटै कम्पनीमा साढे २ अर्ब रुपैयाँसम्मको दाबी परेको छ । ५ कम्पनीमा १ अर्ब बढीको दाबी परेको छ ।
प्राधिकरणका अनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा सबैभन्दा धेरै २ अर्ब ५९ करोड ८ लाख रुपैयाँ बराबरको दाबी परेको छ । यस कम्पनीमा ५०५ निवेदनमार्फत उक्त दाबी परेको हो । साढे २ अर्ब बढी दाबी परे पनि कम्पनीले हालसम्म १६९ निवेदनको १३ करोड ६७ लाख रुपैयाँ मात्रै दाबी भुक्तानी गरेको छ । यो कुल दाबीको ५.२७ प्रतिशत मात्रै हो ।
त्यस्तै, दी ओरियन्टलमा १७७ निवेदमार्फत १ अर्ब ५३ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी माग भएको छ । सोमध्ये कम्पनीले १०१ वटाको २ करोड १ लाख रुपैयाँ भुक्तानी दिएको छ ।
त्यसैगरी, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ४१६ निवेदनबाट १ अर्ब ३६ करोड रुपैयाँको दाबी परेको छ । जसमा कम्पनीले ९२ वटाको ७ करोड २८ लाख रुपैयाँ भुक्तानी दिएको छ ।

शिखर इन्स्योरेन्समा ४५७ निवेदनमार्फत १ अर्ब १० करोड रुपैयाँ दाबी परेकोमा ३९५ वटाको २७ करोड ६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
त्यस्तै, हिमालयन एभरेष्टमा २४६ निवेदनबाट १ अर्ब २ करोड रुपैयाँको दाबी परेको छ । सोमध्ये कम्पनीले ९२ वटाको ८ करोड ५३ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ ।
सानिमा जीआइसीमा ७६ करोड दाबी परेकोमा ३ करोड ३७ लाख भुक्तानी दिएको छ । त्यस्तै, ७६ करोड ३९ लाख दाबी परेको नेकोले ६ करोड ९० लाख रुपैयाँ भुक्तानी गरेको छ ।
युनाइटेड अजोडमा ३२८ निवेदनबाट ७२ करोड ४२ लाख दाबी माग भएकोमा ५ करोड ८० लाख भुक्तानी भएको छ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा सबैभन्दा कम ९ वटा निवेदनमार्फत ५ लाख ४० हजारको दाबी परेकोमा ६ वटाको १ लाख १८ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
इञ्जिनियरिङ क्षेत्रमा धेरै क्षति
सम्पत्ति बीमातर्फ सबैभन्दा धेरै १ हजार ७१६ निवेदनबाट ९ अर्ब १ करोड रुपैयाँको बीमा दाबी परेको छ । सोमध्ये ५३१ वटाको ५८ करोड ८३ लाख रुपैयाँ भुक्तानी भएको प्राधिकरणले जनाएको छ । बाढीपहिरोले व्यक्तिगत घर तथा अन्य सम्पत्तिमा ठूलो क्षति परेकाले माग दाबी पनि धेरै परेको हो ।
बाढीपहिरोबाट इञ्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ २ अर्ब ५८ करोड रुपैयाँ बराबरको दाबी परेको छ । ३०५ निवेदनबाट उक्त रकम माग दाबी गरिएको हो । विशेष गरी बाढीपहिरोका कारण जलविद्युत् आयोजनामा क्षति पुगेको थियो । अधिकांश ऊर्जा उत्पादक केन्द्रले बीमा गर्ने भएकाले पनि यो शीर्षकमा परेको दाबी भुक्तानीका लागि व्यवसायीहरूले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयकोसमेत ध्यानाकर्षण गराएका छन् । दाबी भएकामध्ये ४७ वटाको ४ करोड २७ लाख रुपैयाँ मात्रै भुक्तानी भएको छ ।
मोटर बीमा निजीतर्फ ९०२ दाबी परेकामा ३८० को ८ करोड ४७ लाख रुपैयाँ र मोटर बीमा सार्वजनिकतर्फ ३७८ दाबी हुँदा १३५ वटाको ६ करोड ११ रुपैयाँ बराबरको भुक्तानी भएको छ ।
पुशपन्छी बीमा ५३ निवेदनबाट १ करोड ७० लाख दाबी पर्दा २५ वटाको ३७ लाख १ हजार रुपैयाँ मात्रै भुक्तानी भएको छ । बाढीपहिरोका कारण पशुपन्छी र चौपायासमेत उल्लेख्य मात्रामा मरेका वा बेपत्ता भएका थिए ।
त्यस्तै, सामुद्रिक बीमा २३ निवेदनबाट १ करोड ४८ लाख रुपैयाँको दाबी पर्दा ४ वटाको १६ लाख ६३ हजार रुपैयाँ भुक्तानी भएको छ । कृषिबाली बीमातर्फ १३२ को दाबी हुँदा ८६ वटाको ५१ लाख ५० हजार रुपैयाँ भुक्तानी भएको छ ।
अविरल वर्षाका कारण ठूलो मात्रामा जनधनको क्षति भए पनि बीमाको पहुँच नहुँदा कम मात्रैले दाबी गर्न सक्ने अवस्था रहेको जनाइएको छ । वर्षाका कारण सबैभन्दा बढी प्रभावित भएको प्रदेश वाग्मती प्रदेश भएकाले पनि दाबी पनि बढी परेको प्राधिकरणले जनाएको छ ।