काठमाडौं । यही मङ्सिर १५ गतेदेखि हुन लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)का लागि टिकट मूल्य निर्धारण गरिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार एक विज्ञप्ति जारी गर्दै टिकट मूल्य सार्वजनिक गरेको हो ।
मङ्सिर १५ गते हुने उद्घाटन खेलका लागि सामान्यतर्फ ३०० रुपैयाँ र भीआइपीतर्फ ७०० रुपैयाँ टिकट मूल्य राखिएको क्यानले जनाएको छ । त्यस्तै लिग चरणका अन्य खेलका लागि सामान्यतर्फ ३०० रुपैयाँ र भीआइपीतर्फ ५०० रुपैयाँ मूल्य तय गरिएको छ ।
एनपीएलको प्लेअफका खेल हेर्ने दर्शकहरूले सामान्यतर्फ ५०० रुपैयाँ र भीआइपीतर्फ ७०० रुपैयाँको टिकट काट्नुपर्नेछ । त्यस्तै, फाइनल खेलका लागि भने सामान्यतर्फ ५०० रुपैयाँ र भीआइपीतर्फ १ हजार रुपैयाँ टिकटको मूल्य तोकिएको क्यानले जनाएको छ ।
सिजन पासको हकमा २० प्रतिशत छुटसहित सामान्यतर्फ ४ हजार ४८० रुपैयाँ र भीआइपीतर्फ ८ हजार २४० रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।