कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा, करोबार गर्न रोक

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा भएको छ । नेपाल राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गर्दै कर्णालीलाई समस्याग्रस्त घोषणा गरेको हो ।

राष्ट्र बैंकको वित्तीय संस्था सुपरीवेक्षण विभागका अनुसार नेपालगञ्ज बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकले तोके बमोजिमको न्यूनतम पूँजीकोष अनुपात कायम नगरेको र खराब कर्जा अनुपात ४०.८५ प्रतिशत पुगेकाले कारबाही गरिएको हो ।

राष्ट्र बैंकको व्यवस्था अनुसार विकास बैंकको खराब कर्जा ५ प्रतिशत भन्दा कम र पूँजीकोष १० प्रतिशत माथि हुनुपर्छ । चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणमा बैंकको खराब कर्जा ७.२७ प्रतिशत मात्र देखाइएको थियो । तर, राष्ट्र बैंकको अध्ययनले ४०.८५ प्रतिशत पाइएको हो ।

शीघ्र सुधारात्मक कारबाहीमा परेसँगै कर्णालीलाई आजैदेखि थप निक्षेप संकलन, निक्षेप खाता खोल्न र कर्जा प्रवाह गर्न रोक लगाइएको राष्ट्र बैंकले जनाएको छ ।

कर्णाली डेभलपमेन्ट बैंकमा २०८१ साउन ६ देखि ११ सम्म राष्ट्र बैंकबाट सम्पन्न लक्षित निरीक्षणको प्रतिवेदन अनुसार सो संस्थाको कर्जा नोक्सानी व्यवस्थामा सुपरीवेक्षकीय समायोजन गर्दा बैंकले तोके बमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नहुने, निष्कृय कर्जा अनुपात ४०.८५ प्रतिशत कायम हुने लगायतका कारणले संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएको हुँदा निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले सो संस्थालाई शीघ्र सुधारात्मक कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

कर्णालीलाई नयाँ व्यवस्थापनले ६ महिना भित्र सुधार्ने शर्तमा कारबाही गरिएको हो । ‘ नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ बमोजिम ६ महिनाभित्र संस्थाको नयाँ व्यवस्थापनले उक्त संस्थाको वित्तीय परिसूचकहरुमा सुधार गर्ने शर्तमा आजैका मितिदेखि लागू हुने गरी थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारवाही गरिएको व्यहोरा सर्वसाधरणलाई जानकारी गराइन्छ,’ राष्ट्र बैंकले भनेको छ ।

पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको चुक्ता पूँजी ५० करोड २८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १९ करोड ८ लाख रुपैयाँ संचित छ ।

यस अवधिसम्म बैंकमा सर्वसाधरणको ५ अर्ब २१ करोड रुपैयाँ निक्षेप छ । बैंकले ३ अर्ब ८१ करोड रुपैयाँ ऋण लगानी गरेको छ । असोजसम्म बैंक १ करोड ९८ लाख रुपैयाँ घाटामा छ भने वितरण योग्य नाफा २० करोड ८३ लाख ऋणात्मक छ ।

वित्तीय अवस्था कमजोर रहे पनि पछिल्ला दिनमा बैंकको सेयर मूल्य भने उचालिएको थियो । बैंकको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ८४० रुपैयाँ छ ।

 

एनएलजी इन्स्योरेन्सको हकप्रद खुल्यो, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ? Read Previous

एनएलजी इन्स्योरेन्सको हकप्रद खुल्यो, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ?

मंसिर १९ देखि आइपीओ बिक्री गर्दै गार्डियन माइक्रो लाइफ Read Next

मंसिर १९ देखि आइपीओ बिक्री गर्दै गार्डियन माइक्रो लाइफ