काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूको खराब कर्जा झन्झन् बढ्दै गएको छ । राष्ट्र बैंकले कर्जा पुनर्तालिकीकरण लगायत सुविधा दिए पनि अर्थतन्त्रमा आएको शिथिलताका कारण कर्जा असुली हुन नसक्दा खराब कर्जा झनै बढ्दै गएको हो ।
लघुवित्त संस्थाहरूले सार्वजनिक गरेको चालु आव २०८१/८२ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार औसत खराब नै कर्जा ६.७१ प्रतिशत पुगेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ०.४० प्रतिशत बिन्दु धेरै हो । गत वर्ष पहिलो त्रैमासमा लघुवित्तहरूको खराब कर्जा औसतमा ६.३१ प्रतिशत थियो ।
हाल ५२ वटा लघुवित्त संचालनमा छन् । तीमध्ये ५० वटा (सुपर र स्वस्तिक बाहेक) नेप्सेमा सूचीकृत छन् । सूचीकृत ५० मध्ये पहिलो त्रैमासमा आधा अर्थात् २५ लघुवित्तको खराब कर्जा ५ प्रतिशत माथि छ । २५ लघुवित्तको मात्र खराब कर्जा सीमा भित्र छ । त्यसमा पनि १ दर्जन बढी लघुवित्तको खराब कर्जा ४ प्रतिशत माथि छ । समीक्षा अवधिमा २८ लघुवित्तको खराब कर्जा बढेको छ । एकको स्थिर रहेको छ भने २१ वटाको घटेको छ ।
समीक्षा अवधिमा लघुवित्तहरूले लगानी गरेकोे कर्जा असुल हुन नसकेपछि खराब कर्जा ह्वात्तै बढेको हो । पछिल्लो समय अर्थतन्त्रमा आएको संकुचनका कारण ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास आउँदा ऋण असुली हुन नसकेको हो ।
नेपाल राष्ट्र बैंकले ऋण तिर्न नसकेका ग्राहकलाई ऋणीलाई मध्ये नजर गर्दै ऋण भुक्तानी अवधि थप गरी कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचना गर्न पाउने व्यवस्था गरेको थियो । त्यस्तै, कर्जा नोक्सानी व्यवस्था १.२० प्रतिशतबाट १.१० प्रतिशतमा झारेको थियो । राष्ट्र बैंकले यो सुविधापछि खराब कर्जा घट्ने आशा गरिएको उल्टो बढेको छ ।
समीक्षा अवधिमा अधिकांश लघुवित्तहरूको नाफा १० प्रतिशतले घटेको छ भने १९ वटा घाटामा गएका छन् । व्यवसाय विस्तार गर्न नसक्दा र खराब कर्जा बढ्न गई प्रोभिजनका लागि ठूलो रकम छुट्याउनु परेकाले लघुवित्तहरूको नाफामा ठूलो असर परेको हो ।
कम्पनीहरूको खराब कर्जा बढी हुनु भनेको वित्तीय स्वस्थ्य बिग्रिनु हो । खराब कर्जाले सीमा नाघेपछि राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गर्नसक्छ । त्यस्तो कारबाहीमा पर्ने संस्थालाई राष्ट्र बैंकले शाखा विस्तारसँगै व्यवसाय विस्तारमा समेत रोक लगाउन सक्छ ।
कुनको कति ?
समीक्षा अवधिमा ५० मध्ये २५ लघुवित्तको खराब कर्जा नेपाल राष्ट्र बैंकले तोकेको सीमा अर्थात् ५ प्रतिशत माथि छ । जसमा १० लघुवित्तको खराब कर्जा १० प्रतिशत माथि छ ।
यस अवधिमा एनआइसी एशिया लघुवित्तको खराब कर्जा सबैभन्दा धेरै १८.६८ प्रतिशत छ । गत वर्षको तुलनामा एनआइसीको खराब कर्जा ७.४६ प्रतिशत बिन्दुले बढेको छ ।
नेरुडे लघुवित्तको खराब कर्जा गत वर्षको तुलनामा १०.६२ प्रतिशत बिन्दुले बढेर १६.१४ प्रतिशत पुगेको छ । त्यसैगरी, युनिक नेपाल १५.७९ प्रतिशत, आत्मनिर्भर १४.४३ प्रतिशत, नेष्डो समृद्धि १३.३० प्रतिशत, मातृभूमि १२.४० प्रतिशत, इन्फिनिटी ११.३५ प्रतिशत, स्वाबलम्बन १०.९७ प्रतिशत, नाडेप १०.५१ प्रतिशत र निर्धन उत्थानको १०.१६ प्रतिशत छ ।
त्यस्तै, विजया लघुवित्तको खराब कर्जा ९.३९ प्रतिशत, मेरो माइक्रोफाइनान्स ९.३९ प्रतिशत, डिप्रोक्स ९.०१ प्रतिशत, जनउत्थाना ८.६३ प्रतिशत, लक्ष्मी ७.९४ प्रतिशत, श्रृजनशील ७.४७ प्रतिशत, फरवार्ड ७.३८ प्रतिशत, उन्नती सहकार्य ७.०३ प्रतिशत, एनएमबी ६.३७ प्रतिशत, सूर्योदय वोमी ६.३० प्रतिशत र सामुदायिक लघुवित्तको ६.१४ प्रतिशत रहेको छ ।
स्वरोजगार, धौलागिरि, मिथिला र मानुषी लघुवित्तको खराब कर्जा ५ देखि ६ प्रतिशतको बीचमा छ । त्यस्तै, अभियान, विन नेपाल, आशा, गणपति, जीवन विकास, सम्पदा लगायत १६ लघुवित्तको खराब कर्जा ४ प्रतिशत माथि छ ।
समीक्षा अवधिमा ३ लघुवित्तको मात्रै खराब कर्जा २ प्रतिशतभन्दा कम छ । जसमा आरएसडीसी लघुवित्तको सबैभन्दा कम ०.९६ प्रतिशत छ ।