काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८१ को पहिलो त्रैमासमा लघुवित्त वित्तीय संस्थाहरूको खुद नाफामा १० प्रतिशतको गिरावट आएको छ । यस अवधिमा लघुवित्त संस्थाहरूको खुद ब्याज आम्दानी १८.४४ प्रतिशतले बढे पनि नाफा १० प्रतिशतले घटेको हो ।
चालु आवको असोज मसान्तसम्म नेप्सेमा सूचीकृत ५० लघुवित्तहरूले कुल ५५ करोड ५१ लाख ६४ हजार रुपैयाँ नाफा कमाएका छन् । यो गत वर्ष सोही अवधिको तुलनामा ६ करोड १७ लाख रुपैयाँ कम हो । गत वर्ष पहिलो त्रैमासमा लघुवित्तहरूले ६१ करोड ६८ लाख ६५ हजार रुपैयाँ नाफा कमाएका थिए ।
समीक्षा अवधिमा लघुवित्तहरूको ब्याज आम्दानी बढे पनि खराब कर्जा बढ्न गई प्रोभिजन रकम बढेकाले नाफामा गिरावट आएको हो । साथै, केही लघुवित्तहरूको खर्च बढ्दा पनि नाफा प्रभावित भएको छ ।
समीक्षा अवधिमा लघुवित्तहरूको खुद ब्याज आम्दानी १८.४४ प्रतिशतले बढेर ६ अर्ब ९५ करोड ८४ लाख रुपैयाँ पुगेको छ । तर, खराब कर्जा औसतमै २ प्रतिशतभन्दा धेरैले बढ्दा प्रोभिजन रकम बढेकाले नाफा प्रभावित भएको हो ।
अर्थतन्त्रमा आएको शिथिलताका कारण विगतमा गरिएको कर्जा लगानी असुली हुन नसक्दा लघुवित्तहरूको खराब कर्जा ह्वात्तै बढेको हो । ऋणीहरूको कर्जा तिर्ने क्षमतामा ह्रास आउँदा समयमै साँवा ब्याज तिर्न सकेका छैनन् । कर्जा असुली नहुँदा खराब कर्जा बढ्ने र खराब कर्जा बढ्दा प्रोभिजन रकम पनि बढ्छ ।
समीक्षा अवधिमा अवधिमा २१ लघुवित्तको खुद नाफा बढेको छ भने १० वटाको घटेको छ । गत वर्ष १५ वटा लघुवित्त घाटामा रहेकोमा यस वर्ष बढेर १९ पुगेको छ ।
धेरै कमाउने साना किसान
५० लघुवित्त मध्ये समीक्षा अवधिमा साना किसान विकास लघुवित्तले सबैभन्दा धेरै ३२ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको तुलनामा साना किसानले खुद नाफा ६.७७ प्रतिशतले बढाएको छ ।
त्यस्तै, छिमेक लघुवित्तले २३ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको छ । समीक्षा अवधिमा छिमेकको नाफा ७.३८ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा यी दुई बाहेक ५ लघुवित्तले ५ करोड रुपैयाँ बढी नाफा कमाएका छन् । जसमा नेशनल १० करोड ४७ लाख, जीवन विकास ९ करोड ९३ लाख, ग्रामीण विकास ८ करोड ७९ लाख, डिप्रोक्स ६ करोड ७९ लाख र स्वाबलम्वनले ६ करोड ७४ लाख रुपैयाँ नाफा कमाएका छन् ।
पहिलो त्रैमासमा फरवार्डले ४ करोड १६ लाख, ग्लोबल आइएमई ४ करोड, स्वरोजगार ३ करोड ६८ लाख, फर्स्ट माइक्रोफाइनानस ३ करोड, आरएसडीसी साढे २ करोड, श्रृजनशील, महिला र आरम्भ चौतारीले २ करोड बढी नाफा कमाएका छन् । लक्ष्मी, कालिका, हिमालयन, गुराँस र मिथिलाको खुद नाफा १ करोड रुपैयाँ बढी छ ।
युनिक नेपाल, एनएमबी, मेरो लगायत १० लघुवित्तको खुद नाफा १ करोडभन्दा कम छ ।
१९ लघुवित्त घाटामा
समीक्षा अवधिमा ५० मध्ये १९ लघुवित्त घाटामा रहेका छन् । गत वर्ष १५ लघुवित्त घाटामा थिए । गत वर्ष नाफामा रहेका ९ लघुवित्त यस वर्ष घाटामा गएका छन् ।
समीक्षा अवधिमा नेरुडे मिर्मिरे लघुवित्त सबैभन्दा २६ करोड ११ लाख रुपैयाँ घाटामा छ । गत वर्ष नेरुडे १ करोड ९० लाख नाफामा थियो ।
त्यस्तै, मातृभूमि लघुवित्त १० करोड ८१ लाख रुपैयाँ घाटमा छ । त्यसैगरी, इन्फिनिटी ७ करोड, आशा ५ करोड, नाडेप ५ करोड समता घरेलु र सूर्योदय लघुवित्त ४ करोड बढी नोक्सानीमा छ ।
विजय लघुवित्त साढे ३ करोड, निर्धन उत्थान र सामुदायिक २२ करोड, स्वाभिमान, विन नेपाल र धौलागिरि १ करोड नोक्सानीमा छन् । जनउत्थान, अभियान, समाज, आत्मनिर्भर, मानुषी र सीवाइसी नेपालको नोक्सानी १ करोडभन्दा कम छ ।
