मेडिकल कलेज र सरकारी अस्पताललाई शुल्क सार्वजनिक गर्न परिपत्र, नगरे कारबाही

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ ।

तोकिएकोभन्दा बढी शुल्क लिएको गुनासो सुनिए पछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबैले थाहा पाउने गरी शुल्क विवरण राख्ने व्यवस्था मिलाउन भनेका थिए ।

कतिपय नागरिकले शुल्कबारे थाहा नै नहुने गरेको समेत गुनासो गरे पछि मन्त्री पौडेलले शुल्क थाहा पाउने गरी सार्वजनिक गर्न पहल गरेका थिए ।

मन्त्री पौडेलले चासो लिए पछि मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले शुल्क विवरण सार्वजनिक गर्न परिपत्र गरेको हो ।

मन्त्रालयले पठाएको पत्रमा आफ्ना स्वास्थ्य सेवामा लाग्ने शुल्कको विवरण वेबसाइटमा राख्न तथा सेवाग्राहीले सहज रुपमा जानकारी पाउने व्यवस्था गर्न भनेको छ ।

मन्त्रालयले पठाएको पत्रमा शल्यक्रिया शुल्क खुलाउन भनिएको छ । यसैगरी, सबै खालका शैय्याको शुल्क विवरण, रेडियोलोजी सेवा तथा ल्याबको शुल्क विवरणसमेत खुलाउन भनिएको छ ।

यसैगरी, टिकटसहितका अरु सेवाको विवरणसमेत खुलाएर सेवाग्राहीलाई जानकारी गराउन मन्त्रालयले पत्राचार गरेको छ ।

‘मन्त्रालयले परिपत्रपछि विवरण सार्वजनिक भए नभएको अनुगमन गर्ने तयारी गरेको छ । पहिलो चरणमा अनुगमन गरिनेछ,’ प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, ‘बढी लिएको वा शुल्क सार्वजनिक नगरेको पाइए नियमानुसार कारबाही हुनेछ ।’

स्टक डिलरले ११२ कम्पनीको मात्रै सेयर किन्न पाउने, ५८% कम्पनी अयोग्य (सूची) Read Previous

स्टक डिलरले ११२ कम्पनीको मात्रै सेयर किन्न पाउने, ५८% कम्पनी अयोग्य (सूची)

निगमको हवाई टिकटमा ५ हजारसम्म छुट, कुन गन्तव्यमा कति ? Read Next

निगमको हवाई टिकटमा ५ हजारसम्म छुट, कुन गन्तव्यमा कति ?