काठमाडौं । उपत्यकामा बन्ने ४ स्मार्ट सिटी को डीपीआर असारमा नबन्ने भएको छ । यसअघि उपत्यका विकास प्राधिकरणले असार अन्तिमसम्ममा डीपीआर तयार हुने जनाएको थियो ।
नयाँ बन्ने क्रममा रहेका ४ वटा सहर मध्ये हाल २ वटा सहरको डीपीआरको ड्राफ्ट भने आएको उपत्यका विकास प्राधिकरणले जानकारी दिएको छ ।
ललितपुर र भक्तपुरमा बन्ने स्मार्ट सिटीको डीपीआरको ड्राफ्ट आएको प्राधिकरणका इन्जिनीयर भागवतभक्त खोखालीले जानकारी दिए । उनले भक्तपुर र ललितपुरमा बन्ने नयाँ सहरको डीपीआर साउन अन्तिमसम्ममा पुरा हुने जानकारी दिए ।

त्यसैगरी काठमाडौंमा बन्ने इसान स्मार्ट सिटी १ लाख रोपनीमा रहेकाले डीपीआरको लागि धेरै समय लागेको र त्योसँगै हरित सहरको पनि डीपीआर पुरा हुन्छन्,’ खोखालीले चाणक्यपोष्टसँग भने ।
हरित सहरको डीपीआर टेक फुल ब्राइट जीयाेकमले निर्माण गर्दैछ भने, १ लाख रोपनीमा बन्ने इसान सहरको डीपीआर हेलेनकाे एण्ड आर्किटेक्सले गरिरहेको छ ।

आगामी आर्थिक वर्षमा पनि निर्माण सुरु नहुने
नयाँ सहर निर्माणको काम आउँदो आर्थिक वर्ष २०७६/७७ मा समेत सुरु नहुने भएको छ । ४ वटै नयाँ सहरको डीपीआर पूरा हुन कार्तिकसम्म समय लाग्ने र त्यसपछि क्याबिनेटमा पठाउनु पर्ने हुन्छ ।
त्यसपछि मन्त्रीपरिसद्बाट डीपीआर स्वीकृत भएपछि मात्र निर्माणको काम अघि बढ्ने छ । यसरी हेर्दा आउँदो आर्थिक वर्ष डीपीआरको प्रकृया पुरा गर्न लाग्ने देखिन्छ ।
सरासर काम भएको खण्डमा १०/१० हजार रोपनीका ३ नयाँ सहर निर्माण ३ वर्षमा सकिने प्राधिकरण प्रमुख भाइकाजी तिवारीले बताए ।
उनका अनुसार १ लाख रोपनीको नयाँ सहर निर्माण पुरा हुन ५ वर्ष लाग्ने छ । ‘बिना कुनै रोकावट सरासर काम हुने हो भने ३ वर्षमा साना नयाँ सहर र ५ वर्षमा १ लाख रोपनी भएको नयाँ सहर निर्माण गर्न सकिन्छ,’ तिवारीले चाणक्यपोष्टसँग भने ।

नयाँ सहर निर्माणमा भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखिएको छ । चालु आर्थिक वर्षमा नयाँ सहर निर्माणको डीपीआर निर्माणका लागि ११ करोड रुपैयाँ छुट्याइएको थियो । त्यस मध्य ३ करोड रुपैयाँ मात्र हालसम्म खर्च भएको प्राधिकरणले जानकारी दिएको छ ।