नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोर नेतृत्वमा चीनमा गएको प्रतिनिधि मण्डलले चीनको डालियान आयोजित विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलन मा परिसंघको सक्रिय सहभागिता जनाएको छ ।
प्रतिनिधि मण्डलले डालियानमा चीनको अन्तराष्ट्रिय व्यापार प्रवद्र्धन परिषद डालियानका अध्यक्ष सिउ ति सहित त्यसका पदाधिकारीहरुसँग भेटघाट गरेको छ । भेटमा संस्थागत सहकार्य सुदृढ गर्दै द्विपक्षीय व्यापार विस्तार लगायतका विषयमा छलफल भएको छ ।
साथै आगामी सेप्टेम्बरमा हुने नेपाल पूर्वाधार शिखर सम्मेलनमा सक्रिय सहभागिताका लागि पनि चीनबाट उच्चस्तरिय प्रतिनिधि मण्डललाई निमन्त्रणा गरेको छ । चीनको अन्तराष्ट्रिय व्यापार प्रवद्र्धन परिषद सँग परिसंघको संस्थागत सम्बन्ध विस्तार भइरहेकोले चिनियाँ लगानी विस्तारमा यो भेटको उच्च महत्व रहेको छ ।
त्यस्तै मित्रराष्ट्र बंगलादेशबाट उक्त सम्मेलनमा भाग लिन डालियानमा आउनु भएका ऊर्जा राज्यमन्त्री नसरुल हमिदसँग पनि भेटघाट गरेको छ । सो भेटमा नेपाल र बंगलादेश बीच ऊर्जा सम्झौता भएको सन्दर्भमा नेपालको ऊर्जा क्षेत्रमा संयुक्त लगानीको वातावरण बनाउने सम्बन्धमा छलफल भएको छ ।
विश्व आर्थिक मञ्चको डालियान सम्मेलनमा भाग लिन परिसंघका अध्यक्ष सतिश कुमार मोरको नेतृत्वमा परिसंघका उपाध्यक्ष द्वय अनुज अग्रवाल तथा सुलभ अग्रवाल, राष्ट्रिय परिषद सदस्य आश्मि राणा तथा सदस्य मनोज गोयलकाे सहभागिता रहेकाे थियाे ।