काठमाडौं । सेयर लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट धमाधम ऋण लिन थालेका छन् । सेयर धितो कर्जामा नेपाल राष्ट्र बैंकको लचकता र ब्याजदर सस्तिएसँगै लगानीकर्ता बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सेयर किन्न थालेका हुन् ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ३ महिना (साउन–असोज) मात्रै लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट १५ अर्ब ७३ करोड १६ लाख रुपैयाँ सेयर कर्जा (मार्जिन प्रकृतिको) लिएका छन् ।
गत साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ मार्जिन कर्जा लगानी गरेकोमा चालु आवको असोज मसान्त आइपुग्दा १७.५ प्रतिशतले बढेर १ खर्ब ५ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ ।
चालु आवमा भदौमा सबैभन्दा धेरै ८ अर्ब ३२ करोड १३ लाख रुपैयाँ सेयर कर्जा लगानी भएको छ । यो पछिल्लो ४ वर्ष यता कुनै पनि एक महिनामा लगानी भएको सबैभन्दा धेरै सेयर कर्जा हो । त्यस्तै, चालु आवको असोजमा ६ अर्ब ६ करोड र साउनमा १ अर्ब ३५ करोड रुपैयाँ सेयर कर्जा लगानी भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा संस्थागत तर्फको २० करोडको सीमा खारेज गरेसँगै सेयर कर्जा लगानी ह्वात्तै बढेको हो । गत आवमा १३ अर्ब सेयर कर्जा लगानी भएको थियो । त्यो भन्दा अघिल्ला दुई वर्षमा सेयर कर्जा लगानी ३० अर्बले घटेको थियो ।
करोड बढी ऋण लिने २५ प्रतिशतले बढे
चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ बढीको सेयर कर्जा लगानी ह्वात्तै बढेको छ । राष्ट्र बैंकका अनुसार चालु वर्षको ३ महिनामा १ करोड बढीको सेयर कर्जा लगानी २५.१ प्रतिशतले बढेको छ । २०८१ असार मसान्तसम्म १ करोड बढीको कुल सेयर कर्जा ५५ अर्ब ९३ करोड रहेकोमा असोज मसान्तमा आइपुग्दा बढेर ६९ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । तीन महिनामै १ करोड माथिको सेयर कर्जा १४ अर्ब ३ करोड रुपैयाँले बढेको हो । राष्ट्र बैंकले संस्थागततर्फको २० करोडको सीमा हटाएसँगै ठूला लगानीकर्ताले धमाधम ऋण लिएर सेयर किन्न थालेको देखिन्छ ।
त्यस्तै, चालु आवमा ५० लाखदेखि १ करोड रुपैयाँसम्मको ऋण लगानी ९.४ प्रतिशत अर्थात् १ अर्ब १६ करोड रुपैयाँले बढेको छ । त्यसैगरी, २५ देखि ५० लाख रुपैयाँसम्मको कर्जा लगानी ३.१ प्रतिशत अर्थात् ४४ करोड ६९ लाख रुपैयाँले बढेको छ । गत असार मसान्तसम्म यस्तो कर्जा लगानी १४ अर्ब ४२ करोड रुपैयाँ रहेकोमा असोज मसान्त आइपुग्दा बढेर १४ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।
२५ लाख मुनिको सेयर कर्जा लगानी वृद्धिदर भने न्यून छ । ३ महिनामा यस्तो कर्जा लगानी १.१ प्रतिशत अर्थात् ७ करोड ९३ लाख रुपैयाँले बढेको छ । पछिल्लो समय सानोभन्दा ठूलो रकम लिने लगानीकर्ता ह्वात्तै बढेको राष्ट्र बैंकले जनाएको छ ।
लचिलो नीतिले फस्टाउँदै सेयर कर्जा लगानी
अर्थतन्त्रमा आएको संकुचनका कारण अन्य क्षेत्रमा कर्जाको माग बढ्न सकेको छैन । तर, नेपाल राष्ट्र बैंकको सेयर धितोृ कर्जामा अपनाएको नीतिगत लचकता, घट्दो ब्याजदर, अधिक तरलता, अर्थतन्त्रका सूचकमा देखिएको सुधार लयागत कारणले सेयर धितो कर्जा लगानी बढेको हो ।
राष्ट्र बैंकले गत वर्षदेखि सेयर धितो कर्जामा एकपछि अर्को नीतिगत लचकता अपनाउँदै आएको छ । सोही कारण सेयर कर्जाको माग र लगानी बढेको हो । राष्ट्र बैंकले आव २०७८/७९ को मौद्रिक नीति मार्फत सेयर कर्जामा ४/१२ करोड रुपैयाँको सीमा लगाएको थियो । त्यसको व्यापक आलोचना भएपछि २०७९/८० को मौद्रिक नीतिबाट ४ करोडको सीमा हटाएर एउटै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म ऋण लिन सक्ने व्यवस्था गरेको थियो ।
त्यस्तै, गत आवमा त्यसको सीमा बढाएर एक व्यक्तिले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोड ऋण लिन पाउने व्यवस्था गरेको थियो । चालु आवको मौद्रिक नीतिबाट संस्थागततर्फको २० करोडको सीमा पनि खारेज गरिदिएको छ ।
राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार पनि घटाएको छ । गत वर्ष मौद्रिक नीति मार्फत २५ लाखसम्मको सेयर धितो कर्जाको जोखिमभार शतप्रतिशत कायम गरेकोमा त्यसको सीमा बढाएर ५० लाख रुपैयाँ पुर्याएको थियो । त्यस्तै, ५० लाख बढीको सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट १२५ प्रतिशतमा झारेको थियो ।
अहिले बैंकिङ प्रणालीमा कायम अधिक तरलता र घट्दो ब्याजदरका कारण पनि सेयर कर्जा बढेको हो । कर्जाको माग नभएपछि बैंकहरूले महिनैपिच्छे ब्याजदर घटाइ रहेका छन् । अधिकांश बैंकले गत वर्षको कात्तिकदेखि नै निक्षेपको ब्याजदर घटाएका छन् । जसकारण बैंकको लागत घट्न गई कर्जाको ब्याजदर समेत घटेको छ । अहिले बैंकहरूको औसत बेसरेट ७ प्रतिशतमा झरिसकेको छ । बार्गेनिङ गर्न सक्ने ग्राहकले ८ प्रतिशत कममै ऋण पाउने अवस्था छ । साथै, पछिल्लो समय सेयर बजारले केही गति लिँदा लगानीकर्ताले आफ्नो लगानी बढाउँदै लगेको देखिन्छ ।