काठमाडौं । नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्य पूँजी (तरलता) अभावको समस्यालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले दुवईको माश्रिक बैंकबाट १० मिलियन अमेरिकी डलर (करिब १ अर्ब १० करोड रुपैयाँ ) ल्याउने भएको छ ।
आइतबार रकम भित्र्याउने सम्बन्धी सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र माश्रिक बैंकको तर्फबाट नेपालका लागि प्रमुख देशिय प्रतिनिधि हेमा अधिकारीले हस्ताक्षर गरे ।
उक्त रकम नेपाल ल्याउन माछापुच्छ्रेले स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिएको । राष्ट्र बैंकको स्वीकृती लगत्तै उक्त रकम नेपाल भित्र्याउने माछापुच्छ्रे बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले कुल प्राथमिक पूँजीको शतप्रतिशत रकम विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने व्यवस्था गरेको छ । यही व्यवस्था अनुसार माछापुच्छ्रे बैंकले विदेशबाट पैसा ल्याउने प्रकृया थालेको थियो ।
माश्रिक बैंकबाट ल्याउन लागेको उक्त रकम कृषि, ऊर्जा, पर्यटन, साना तथा मझौला व्यवसायलगायतका अन्य विभिन्न प्राथमिकताका क्षेत्रमा लगानी गर्ने बैंकले जानकारी दिएको छ ।