काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड घाटामा गएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ८ करोड ५५ लाख रुपैयाँ नोक्सानीमा रहेको हो ।
यद्यपि, गत वर्षको पहिलो त्रैमासको तुलनामा सोनापुरको नोक्सानीमा ठूलो सुधार आएको छ । गत वर्ष ३ महिनामै कम्पनीले ४६ करोड ९२ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको संचालन आम्दानी घटे पनि खर्च घट्दा नोक्सानी पनि घटेको हो ।
समीक्षा अवधिमा कम्पनीको संचालन आम्दानी ७९.०८ प्रतिशतले घटेर ३४ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष यस्तो आम्दानी १ अर्ब ६३ करोड रुपैयाँ थियो ।
कम्पनीको बिक्री लागत ३१ करोड ६७ लाख रुपैयाँ ऋणात्मक छ । भने अन्य आम्दानी १ लाख ४७ हजार रुपैयाँ मात्रै छ । गत वर्ष कम्पनीको अन्य आम्दानी ६ लाख २१ हजार रुपैयाँ थियो ।
कम्पनीको कुल नाफा ६९.९१ प्रतिशतले घटेर २ करोड ६२ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको वित्तीय खर्च ७ करोड ७४ लाख रुपैयाँ ऋणात्मक छ । गत वर्ष यस्तो खर्च २५ करोड ९५ लाख रुपैयाँ ऋणात्मक थियो ।
हाल ३ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको सेक्युरिटिज प्रिमियममा १ अर्ब ६५ करोड र जगेडा कोषमा २० करोड ५४ लाख रुपैयाँ छ ।
नोक्सानीमा गएसँगै कम्पनीको प्रतिसेयर आम्दानी ११.१३ रुपैयाँ ऋणात्मक भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १६०.४५ रुपैयाँ छ ।