काठमाडौं । शिवम् सिमेन्टको खुद नाफामा सुधार देखिएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार असोजसम्म १ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
जबकि, गत वर्ष यही अवधिमा शिवम् ५ करोड ३४ लाख रुपैयाँ नोक्सानीमा थियो ।
समीक्षा अवधिमा कम्पनीको बिक्रीबाट हुने आम्दानी घटे पनि खर्च घट्दा नाफामा गएको हो । असोजसम्म कम्पनीको संचालन आम्दानी १ अर्ब ४० करोड रुपैयाँ छ । गत वर्षको तुलनामा यस्तो आम्दानी २२ करोड रुपैयाँले घटेको हो ।
त्यस्तै, कम्पनीको अन्य आम्दानी ५ गुणाले बढेको छ । गत वर्ष पहिलो त्रैमासमा २ करोड १२ लाख अन्य आम्दानी गरेको शिवम्को यस वर्ष १० करोड ५७ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको बिक्री लागत १ अर्ब ३० करोड छ । गत वर्ष १ अर्ब ४५ करोड रुपैयाँ थियो ।
समीक्षा अवधिमा शिवम्को खर्च ५ करोड ६५ लाख रुपैयाँ घटेको छ । गत वर्ष २४ करोड ५४ लाख रुपैयाँ रहेको खर्च चालु वर्ष घटेर १८ करोड ९३ लाखमा सीमित भएको छ ।
हाल ५ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको सेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ र जगेडा कोषमा ३ अर्ब ५३ करोड संचिति छ ।
नाफामा सुधार आएसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि धनात्मक भएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १.०२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८९.२८ रुपैयाँ छ ।