उद्योगले बक्यौता तिरेपछि मात्रै लाइन जोड्नुपर्छ : प्राधिकरणका कर्मचारी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरूले उद्योगहरूले बक्यौता तिरेपछि मात्रै लाइन जोड्ने व्यवस्था मिलाउन सरकारलाई ध्यानाकर्षण गराएका छन्।

सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाल विद्युत् प्राधिकरण कर्मचारी कल्याण परिषद र राष्ट्रिय कर्मचारी युनियनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार मध्याह्न १२ बजेसम्म उद्योगहरूमा काटिएको लाइन जहडान गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।

सरकारको निर्णयले प्राधिकरणलाई प्रतिकूल असर पर्ने उनीहरूको भनाइ छ । उनीहरूले सानालाई ऐन र ठूलालाई चैन जस्तो व्यवहार नगर्न समेत सरकारलाई आग्रह गरेका छन् ।

‘सञ्चालक समितिले ग्राहकलाई सहजीकरण गर्न किस्ताबन्दी सुविधामा ५६ किस्ताको सुविधा उपलब्ध गराउने निर्णय गरिसकेको अवस्थामा बुझाइसकेपछि लाइन जोड्नुपर्नेमा सरकारबाट २४ घण्टा भित्रमा काटिएको लाइन जोड्नुपर्ने निर्देशन हुनुले आगामी दिनमा महसुल असुलीमा प्रतिकूल असर परी संस्था धरासायी हुने निश्चित छ,’ विज्ञप्तिमा भनिएको छ।

६० दिनभन्दा बढी समय महसुल नतिर्ने आम उपभोक्ताको लाइन काटी महसुल असुल उपर गर्ने प्रावधान रहेका कारण उद्योगीले पनि उपभोग गरेको बिजुलीको महसुल तिर्नुपर्ने उनीहरूको भनाइ छ।

प्राधिकरणले पटक–पटक मौखिक तथा लिखित ताकेता गर्दा समेत तोकिएको समयावधिभित्र बक्यौता नबुझाउने ग्राहकहरूको लाइन काट्न प्राधिकरण बाध्य भएको उनीहरूले विज्ञप्तिमा उल्लेख गरेका छन्।

आर्थिक सुधारका काम हुँदै छन् : प्रधानमन्त्री ओली Read Previous

आर्थिक सुधारका काम हुँदै छन् : प्रधानमन्त्री ओली

६४ कम्पनीले पाए ९६० मेगावाट सौर्य विद्युत् उत्पादनको ठेक्का, कुनले कति ? Read Next

६४ कम्पनीले पाए ९६० मेगावाट सौर्य विद्युत् उत्पादनको ठेक्का, कुनले कति ?