काठमाडौं । भम्रण वर्ष २०२० संघारमा आइसकेको छ । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । भ्रमण वर्षको भव्य रुपमा उद्घाटन गर्ने सरकारको कार्यक्रम रहेको छ । यसै तयारीका क्रममा उपत्यकाका तीन जिल्लामा गरिएको तयारी यस्तो छ ।
काठमाडौं महानगरपालिकाको पर्यटन मार्गको मास्टर प्लान
काठमाडौं महानगरपालिकाले पर्यटन वर्ष २०२० का लागि हनुमानढोका, पशुपति नाथ, स्वयम्भु र बौद्ध नाथ क्षेत्रलाई महत्वका साथ तयारी गरिरहेको छ । सो क्षेत्रका सम्बन्धित निकायहरुसँग सहकार्य गरी महानगरले भ्रमण वर्षको तयारी अघि बढाएको हो ।
हाल महानगरसँग ५८ वटा सार्वजनिक शौचालयहरु रहेकोका छन् । महानगरले उक्त शौचालयहरुको स्तरउन्नती गर्ने तयारी गरेको छ । पशुपतिनाथमा एउटा मात्र शौचालय भएकाले त्यसको सरसफाइमा समेत ध्यान दिइने महानगरपालिकाका सांस्कृतीक तथा पर्यटन प्रमुख राम थापाले जानकारी दिए ।
उनका अनुसार बसन्तपुरदेखि स्वयम्भुसम्म पर्यटन मार्गको मास्टर प्लान समेत तयारी भइसकेको छ । उक्त मास्टर प्लान अनुसार यही वर्षभित्र सो मार्गलाई तयार गरिने उनले बताए । उक्त मार्गमा पर्ने घरहरुलाई साँस्कृतिक आवरण दिइने छ भने बाटोमा रहेका पार्कमा समेत शौचालयको व्यवस्था गरिने उनले जानकारी दिए । पर्यटन मार्गका विभिन्न ठाउँमा आर्ट ग्यालरी समेत राखिनेछ ।
‘पयर्टन मार्गमा आर्ट ग्यालरी, हस्कलाका सामग्री विक्री केन्द्र, बुढाबुढी बस्ने ठाउँ सार्थ साँस्कृतीक बाजागाजाको व्यवस्था गरिएको छ, त्यसमा अन्य आवश्यक कुराहरु थप गर्दै लैजाने छौँ,’ थापाले चाणक्य पोष्टसँग भने ।
यस्तै महानगरले ठमेलमा तार व्यवस्थापन गरिरहेको छ । हाडीगाउँका ११ घरमा होम स्टेका लागि समेत सहकार्य भइसकेको जानकारी दिए ।
हालसम्म पर्यटन वर्षका लागि भनि १३ करोड रुपैयाँका हाराहारीमा छुट्याइएको छ ।
भक्तपुरमा ३२९ वर्ष पुरानो नगरा पुनःस्थापना
भक्तपुर नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० का लागि भक्तपुर दरबार क्षेत्रस्थित तलेजु मन्दिर परिसरमा रहेको ३२९ वर्ष पुरानो दुई वटा ठूलो ऐतिहासिक नगराहरूलाई पुनःस्थापना गरेको छ ।
उक्त नगरा सिद्धिलक्ष्मी मन्दिर अगाडिको ताहा सत्तल (तबा सत्तल) मा पुनःस्थापना गरिएको हो । भ्रमण वर्षकै लागि भनी भक्तपुर नगरपालिकाले पुस १५ गते सन्ध्याकालीन पदयात्रा र पुस १६ (जनवरी १) मा प्रभातफेरी कार्यक्रम गर्ने योजना बनाएको छ ।
ललितपुर महानगरले हेरिटेज साइट एप बनाउने
ललितपुर महानगरले पर्यटन वर्ष २०२० का लागि हेरिटेज साइट एप बनाउँदै गरेको छ । त्यसको प्रगोगबाट पर्यटकले ललितपुर महानगरमा पर्ने सबै ऐतिहासिक क्षेत्रका विषयमा जानकारी लिन सक्नेछन् ।
ललितपुर महानगरका भिएनवाई संयोजक विरेन्द्र राज श्रेष्ठले विभिन्न पर्यटन मार्गको तयारी गरिरहेको र १४ वटा नमस्ते इनफमेसन सेन्टर बनाइने क्रममा त्यस मध्ये एउटा ललितपुरमा पनि बनाइने जानकारी दिए ।
यस्तै ललितपुर महानगर भित्र पर्ने प्रत्येक वडाले २ हप्ताको सांस्कृतीक कार्यक्रम समेत गर्ने गरी भ्रमण वर्षको तयारी भइरहेको श्रेष्ठले बताए । ललितपुर महानगरले पर्यटकहरुको सुविधाका लागि भनी विद्युतीय बस सञ्चालनको समेत तयारी गरेको उनको भनाइ छ ।