ट्रम्पको उदयपछि डलरको मूल्यमा लगातार चौथो दिन नयाँ रेकर्ड

काठमाडौं । अमेरिकी डलरको मूल्यले लगातार चौथो दिन नयाँ रेकर्ड बनाएको छ । अमेरिकी नयाँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएसँगै डलरको मूल्य लगातार नयाँ उचाइ लिएको हो ।

नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दर अनुसार १ अमेरिकी डलरको बिक्रीदर १३५.३१ रुपैयाँ पुगेको छ ।

यो नेपाली मुद्राको सटहीदरमा हालसम्मकै उच्च हो । यसअघि कात्तिक २३ गते १३५.३० रुपैयाँ पुगेको थियो । यस्तै, आजका लागि १ अमेरिकी डलरको खरिददर १३४.७१ रुपैयाँ तोकिएको छ ।

डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दा त्यसको असर नेपाली मुद्रामा देखिएको हो । नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमयदर रहेको छ । अमेरिकी डलर बलियो बन्दा भारुको मूल्य खस्कने भएकाले त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको छ ।

विश्व बजारमा डलरको माग बढेसँगै मूल्य आकाशिएको हो । अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाएको छ । नयाँ राष्ट्रपतिमा ट्रम्पले करका दरहरू घटाउने बताएका छन् । जसकारण लगानीकर्ता उत्साहित हुँदा त्यसको प्रभाव डलरमा समेत परेको जानकारहरु बताउँछन् ।

अमेरिकी डलरको भाउ बढ्दा नेपाली अर्थतन्त्रमा सकारात्मक र नकारात्मक दुवै असर पर्ने गर्छ । तर, नेपालको अर्थतन्त्र आयातमुखी रहेकाले नकारात्मक असर धेरै पर्ने अर्थविद्हरू बताउँछन् ।

नेपालको वैदेशिक व्यापार स्थिति निर्यातका तुलनामा आयात उच्च रहने भएकाले त्यसको भुक्तानी डलरमा हुने र यसले व्यापार घाटा झनै बढ्ने हुन्छ । यसले शोधनान्तरस्थिति र विदेशी मुद्रा सञ्चितिमासमेत असर पार्छ ।

त्यस्तै, डलरको भाउ बढ्ने बित्तिकै आयातित वस्तु, इन्धन लगायतको मूल्य बढ्ने, विदेशी ऋणको साँवा र ब्याजको दायित्व बढ्ने गर्छ । जसले नेपाली अर्थतन्त्रमा नकारात्मक असर पार्छ ।

डलरको भाउ बढ्दा विप्रेषण आय, पर्यटन क्षेत्रको आय तथा निर्यात व्यापारमा भने सकारात्मक प्रभाव पर्छ । राष्ट्र बैंकको तथ्यांक अनुसार नेपालको वैदेशिक व्यापारमा निर्यातको हिस्सा १० प्रतिशतभन्दा कम रहेकाले डलरको भाउ बढ्दा न्यून मात्र लाभ हुन्छ ।

पछिल्लो समय विप्रेषण आप्रवाह र पर्यटक आवगमन भने निरन्तर बढ्दो क्रममा रहेकाले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने देखिन्छ । नेपाल आउने पर्यटक बढेसँगै नेपालीमा विदेशी मुद्रा भित्रिने र यसले संचिति बढाउन सहयोग गर्छ ।

त्यस्तै, वैदेशिक रोजगरीमा गएका नेपालीहरूले विदेशी मुद्रामा रेमिट्यान्स पठाउँछन् । डलरको भाउ बढ्दा उनीहरूले नेपाल पठाउने पैसामा पनि वृद्धि हुन्छ । जसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ ।

टिकटक, नेटफ्लिक्स सहित २० अन्तर्राष्ट्रिय कम्पनी नेपालमा दर्ता, तिर्न थाले कर Read Previous

टिकटक, नेटफ्लिक्स सहित २० अन्तर्राष्ट्रिय कम्पनी नेपालमा दर्ता, तिर्न थाले कर

सगरमाथा जलविद्युत्को लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

सगरमाथा जलविद्युत्को लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन