ठेक्का अलपत्र पार्ने ऊर्जा राज्यमन्त्री पूर्णबहादुरको सहित १३ कम्पनी कालोसूचीमा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) को कान्छाराम कन्स्ट्रक्सनसहित एक दर्जन बढी कम्पनीहरूलाई कालोसूचीमा परेका छन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै कान्छारामसहित १३ कम्पनीलाई कालोसूचीमा राखिएको जानकारी गराएको हो ।

कार्यालयले ती निर्माण तथा आपूर्ति कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १ देखि साढे २ वर्षका लागि कालोसूचीमा राखेको हो । विभिन्न निकायहरूको सिफारिसमा ती कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) मुख्य व्यक्ति रहेको कान्छाराम कन्स्ट्रक्सन, रमिला लामा मुख्य व्यक्ति र दीपक थिङ आधिकारिक व्यक्ति रहेको एन.बी. कन्स्ट्रक्सन, टेन्डी शेर्पा मुख्य व्यक्ति भएको द कञ्चनजंघा कन्स्ट्रक्सन र सुबित श्रेष्ठ मुख्य व्यक्ति भएको बिरुवा कन्स्ट्रक्सन साढे २ वर्षसम्म कालोसूचीमा परेका छन् । ऊर्जा राज्यमन्त्री तामाङ नेपाली कांग्रेस रामेछापका सभापति समेत हुन् ।

उनीहरूले लिएको ठेक्काको काम सन्तोषजनक नभएको भन्दै कम्पनीलाई संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, तुम्लिङटारले कालोसूचीमा राख्न सिफारिस गरेको थियो।

त्यस्तै, कार्यालयले सुवित श्रेष्ठको बिरुवा कन्स्ट्रक्सन र बुद्धिमान गोलेको बीजी निर्माण सेवालाई कालोसूचीमा राखेको छ ।

त्यसैगरी, पूजा कन्स्ट्रक्सन (धनकुटा), साह निर्माण सेवा (सुनसरी), स्काइ लाइन कन्स्ट्रक्सन (धनुषा), शक्ति निर्माण सेवा (मकवानपुर) र आरएन बिल्डर्स (मकवानपुर)लाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

यूभी इन्जिनीयरिङ कन्सल्टेन्सी (काठमाडौं), नाटेश्वरी निर्माण सेवा एण्ड अडर सप्लायर्स (काठमाडौं), महालक्ष्मी एण्ड कम्पनी (मकवानपुर) र विर्ता कन्स्ट्रक्सन (काभ्रे)लाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ ।

कालोसूचीमा परेका कम्पनीले अब तोकिएको अवधिमासम्म सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् । कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तर हुने कार्यालयले जनाएको छ।

 

सबैभन्दा महँगो सेयर मूल्य भएको लघुवित्त घाटामा, खबरा कर्जा १४ प्रतिशत माथि Read Previous

सबैभन्दा महँगो सेयर मूल्य भएको लघुवित्त घाटामा, खबरा कर्जा १४ प्रतिशत माथि

सुनको मूल्य तोलामा २ हजार बढ्यो Read Next

सुनको मूल्य तोलामा २ हजार बढ्यो