काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था घाटामा रहेको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ४३ लाख ५३ हजार रुपैयाँ नोक्सानी व्यहोरेको हो ।
जबकि, गत वर्ष पहिलो त्रैमासमा लघुवित्तले ५२ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी बढे पनि संचालन नाफा घट्दा र प्रोभिजन रकम बढ्दा घाटामा गएको हो ।
लघुवित्तको खुद ब्याज आम्दानी १६.१७ प्रतिशतले बढेर ३ करोड १३ लाख पुगेको छ । त्यस्तै, यस अवधिमा लघुवित्तको संचालन मुनाफा २ करोड ३० लाख रुपैयाँ रहेको छ ।
खराब कर्जा बढेसँगै लघुवित्तको प्रोभिजन रकम ७०.२३ प्रतिशतले बढेर ४ करोड ५ लाख रुपैयाँ पुगेको छ ।
हाल ६ करोड ८५ लाख रुपैयाँ चुक्तापूँजी रहेको लघुवित्तको जगेडा कोषमा २० करोड ५ लाख रुपैयाँ संचित छ ।
कर्जा असुल्न नसक्दा लघुवित्तको खराब कर्जा झण्डै दोब्बरले बढेको छ । गत वर्ष पहिलो त्रैमासमा ८.५३ प्रतिशत रहेको लघुवित्तको खराब कर्जा चालु आवमा बढेर १४.४३ प्रतिशत पुगेको छ ।
आत्मनिर्भर नेप्सेमा सूचीकृत ५० लघुवित्तमध्ये सबैभन्दा महँगो सेयर मूल्य भएको लघुवित्त हो । यसको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ४ हजार ८०० रुपैयाँ रहेको छ ।