काठमाडौं । नेपालकै अग्रणी ई-कमर्स प्लेटफर्म दराजले आफ्नो बहुप्रतिक्षित सेल दराज ११.११को आयोजना गर्ने भएको छ । वर्षकै ठूलो सेलका रुपमा परिचित दराज ११.११ यस वर्ष, नोभेम्बर ११ देखि २१ सम्म आयोजना हुने भएको हो ।
बहुप्रतिक्षित यस सेलमा थप आकर्षण थप्न यस वर्ष फ्ल्याश सेलमार्फत ८० प्रतिशतसम्म छुट, देशभर निःशुल्क डेलिभरी सुविधा, ३ करोड रुपैयाँसम्मका भौचरहरूका साथै अविश्वसनिय छुट लगायत सुविधा पाइने छ ।
दराजले १० ओटा बैंक र २ ओटा वालेट पार्टनरसँग मिलेर ११.११ सेलमा प्रिपेमेन्ट मार्फत २५०० रुपैयाँसम्मको छुटको पनि व्यवस्था गरेको छ ।
ग्राहकले नबिल, हिमालयन, सनिमा, एभरेष्ट, एनएमबी, माछापुच्छ्रे, सिटिजन्स, नेपाल, ज्योति विकास र महालक्ष्मी विकास बैंकको डेबिट कार्डहरू मार्फत डिजिटल प्रिपेमेन्ट गर्दा १५ प्रतिशत वा अधिकतम २ हजार रुपैयाँ र क्रेडिट कार्ड प्रगोगकर्ताले २० प्रतिशत वा अधिकतम २५०० रुपैयाँ पाउने छन् । त्यस्तै, आफ्नो ई–सेवा र आईएमई पे वालेट मार्फत प्रिपेमेन्ट गर्ने ग्राहकहरूले पनि दराज ११.११ को विभिन्न समयमा छुट प्राप्त गर्न सक्नेछन् ।
यस अभियान मार्फत दैनिक रुपमा रु. ११, रु. १११ र ११११ रुपैयाँका डिलहरू पनि सेलमा रहनेछन् । खरिदकर्ताहरूले रु. ६९९, रु. ९९९, रु. १९९९ र २९९९ रुपैयाँभन्दा कममा उत्कृष्ट डिल्स पाउन सक्नेछन् । साथै, दराज ११.११ सेल अवधिभर कम्तिमा ३५०० रुपैयाँको सामग्री खरिद गर्ने एक भाग्यशाली खरिदकर्ताले प्यानासोनिकको ३ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको घरायसी सामग्रीको सेट जित्न सक्नेछन् । थप पाँच जना ग्राहकहरूले कामाख्या डेकोर, बागमती प्लास्टिक्स, सेटाफिल, मामाअर्थ, र जिना अल्केमीका तर्फबाट आकर्षक गिफ्ट ह्याम्परहरू पनि जित्न सक्नेछन् ।
दराज नेपालको प्रबन्ध निर्देशक आँचल कुँवरले ग्राहकको वर्षभरीको प्रतिक्षलाई सार्थक बनाउन यो अफर ल्याइएको बताइन् ।
‘ग्राहकहरूको वर्ष भरीको प्रतिक्षालाई सार्थक पार्ने सोचका साथ यस वर्षको दराज ११.११ सेलमार्फत हामीले हाम्रा ग्राहकहरूलाई अद्वितीय किनमेल अनुभव प्रदान गर्ने लक्ष्य लिएका छौँ,’ उनले भनिन्, ‘यस सेलले ग्राहकहरूका लागि अप्रत्याशित छुटहरू उपलब्ध गराउनुका साथै हजारौं स्थानीय विक्रेताहरूलाई आफ्ना पृथक उत्पादनहरू प्रदर्शित गर्ने मौका प्रदान गर्नेछ । साथै, हाम्रो बृहत्त सञ्जाल मार्फत देशभरका उपभोक्ताहरू माझ तिनका पृथक उत्पादनहरू उपलब्ध गराउन तथा उपभोक्ताहरूलाई स्थानीय ब्राण्डहरूको उत्कृष्ट सामानहरू खोज्न सघाउने हाम्रो विश्वास छ ।’
विविध सामग्रीहरूका विस्तृत श्रृंखला र ब्राण्डेड उत्पादनहरू मध्य विशाल छनौटको अवसरसँगै, दराज ११.११ किनमेलको लागि एक अतुलनिय गन्तव्य हो । यस वर्षको दराज ११.११ सेलका लागि दराज नेपालले सात ओटा डाइमन्ड ब्राण्ड पार्टनरहरू राखेको छ । जसमा सेटाफिल, रोहोतो मेन्थोलाटम, मसलब्लेज, जुभारा, बोट, एडिडास, र बाल्ट्रा समावेश छन् । प्लेटिनम पार्टनरहरूमा टेक्नो, परफेट्टी, ग्रीनलाइफ एक्स्पिरियन्स, एंकर्स, डा. शेत, र एवीबी रहेका छन्। साथै, गोल्ड ब्राण्ड पार्टनरहरूमा भ्यान्स, मुनस्टार, अस्तावुल्फ, ईप्लाजा, मामाअर्थ, पिलग्रिम, र जेब्रोनिक्स रहेका छन् ।