पोखरा विमानस्थलमा १४ महिनापछि अन्तर्राष्ट्रिय उडान

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको २२ महिनामा तेस्रो अन्तर्राष्ट्रिय उडान भएको छ । बिहीबार पोखरा विमानस्थलमा चीनको सिचुवान एयरलाइन्सले उडान गरेको हो ।

चीनको कुनमिङबाट १३४ जना यात्रु लिएर आएको सिचुवान एयरलाइन्सको एयर बस ३१९ चार्टर्ड विमान पोखरामा विमानस्थलमा बिहीबार दिउँसो २ः४० मा अवतरण गरेको थियो ।

उक्त विमानमा पोखरामा हुन लागेको तेस्रो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगितामा सहभागी हुने चिनियाँ खेलाडी, दर्शक र अन्य प्रतिनिधिहरू आएका हुन् ।

१४ महिनापछि बिहीबार पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भएको हो । यसअघि पहिलोपटक २०८० असार ६ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सले नै पहिलो अन्तर्राष्ट्रिय उडान गरेको थियो । सो बेला सिचुवानले छेन्दु–तियान्फु विमानस्थलबाट उडान गरेको थियो ।

त्यस्तै, २०८० भदौ २३ गते भुटानको पारोबाट ड्रुक एयरको एयरबस ए ३१९ जहाजले चार्टर्ड उडान गरेको थियो । त्यसयता कुनै विदेशी एयरलाइन्सले उडान गरेका थिएनन् ।

२०७९ पुस १७ गतेदेखि संचालनमा ल्याइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अझै नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । सरकारले उक्त विमानस्थल संचालनमा ल्याउन ग्राउण्ड ह्याण्डलिङ, हवाइ इन्धन लगायतमा छुट दिए पनि त्यहाँबाट उडान गर्न विदेशी एयरलाइन्स कम्पनीहरु आकर्षित हुन सकेका छैनन् ।

पोखरा विमानस्थल चीनको एक्जिम बैंकबाट २१ करोड ६० लाख रुपैयाँ डलर ऋण लिएर बनाइएको हो ।

४० दिन बित्दा पनि संकलन भएको क्षतिको विवरण, पुनर्वास कार्यक्रम प्रभावित Read Previous

४० दिन बित्दा पनि संकलन भएको क्षतिको विवरण, पुनर्वास कार्यक्रम प्रभावित

वर्षकै ठूलो सेल 'दराज ११.११' आयोजना हुँदै, ८० प्रतिशतसम्म छुट पाइने Read Next

वर्षकै ठूलो सेल 'दराज ११.११' आयोजना हुँदै, ८० प्रतिशतसम्म छुट पाइने