जनकपुरधाम । सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले पौष्टिक तत्व भएको (भिटामिनयुक्त) चामल उत्पादन सुरूगरेको छ ।
धान र चामलको खरिद-बिक्री गर्दै आएको सो कार्यालयले पौष्टिक तत्व भएको भिटामिनयुक्त चामलसमेत उत्पादन गरेर वितरण सुरु गरेको सो कार्यालयका कार्यालय प्रमुख गङ्गाप्रसाद साहले जानकारी दिए ।
विश्व खाद्य कार्यक्रमअन्तर्गत जनकपुरस्थित सो कार्यालयको हाताभित्र फोटोफिकेसन प्लान्ट जडान भएको छ तथा त्यस प्लान्टबाट सो भिटामिनयुक्त चामल उत्पादन भइरहेको बताइएको छ । त्यहाँ चामलको गुणस्तर समेत जाँच गरिन्छ । २०८१ वैशाख महिनामा प्लान्ट जडान भएको हो । प्लान्ट जडान भएपछि यस कार्यालयबाट उत्पादन सुरु भएको सो पौष्टिक चामल कर्णाली प्रदेशमा वितरण गरिँदै आएको छ ।
पौष्टिक तत्व भएको चामल विश्व खाद्य सङ्गठनले भारतबाट खरिद गरी त्यसलाई उक्त प्लान्टमा पीठो बनाउने र प्रति १०० केजी बोरा चामलमा १ केजी पीठो मिसाएर (पौष्टिकतत्व) भिटामिनयुक्त चामल उत्पादन गरी कर्णाली प्रदेशका कुपोषित जनतालाई वितरण गर्ने गरिएको प्रमुख साहले जानकारी दिए ।
विश्व खाद्य कार्यक्रमअन्तर्गत उक्त प्लान्ट खाद्य संस्थानको सुर्खेत, जनकपुर तथा काठमाडौँ कार्यालयमा जडान गरिएको छ । भारतको रासन वितरणमा यो चामल अनिवार्य त्यहाँको सरकारले गरेको छ ।
सो कार्यालयले अरुवा सोना मन्सुली तथा बासमती चामल सहुलियत तथा छुट मूल्यमा बिक्री सुरु गरेको कार्यालय प्रमुख साहले बताए । अरुवा सोना मन्सुली चामल प्रतिकेजी रु ६५ मा रु ५ छुट गरेर रु प्रतिकेजी ६० तथा बासमती चामल प्रतिकेजी रु १२३ मा रु ५ छुट गरेर प्रतिकेजी रु ११८ का दरले उक्त दुवै चामल सहुलियत मूल्यमा धमाधम बिक्री भइरहको बताइएको छ ।
सहुलियत मूल्यमा बिक्रीका लागि २०० क्विन्टल चामल सो कार्यालयले कोटा निर्धारण गरेको छ । एकजनालाई ५० केजीसम्म सो सहुलियतको चामल बिक्री वितरण गरिने प्रावधान छ ।रासस