अमेरिकी राष्ट्रपतिमा ट्रम्पको जित सुनिश्चित

काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उमेदवार डोनाल्ड ट्रम्प जित सुनिश्चित भएको छ ।

सार्वजनिक पछिल्लाे मत परिणाम अनुसार ट्रम्प जित नजिक पुगेका हुन् । अमेरिकामा राष्ट्रपति चुनिन २७० इलेक्टोरल कलेज जित्नुपर्नेमा ट्रम्पले हालसम्म २६७ प्राप्त गरिसकेका छन् ।

उनकी प्रतिस्पर्धी डेमोक्र्याटिक पार्टीकी कमला ह्यारिसले २२४ इलेक्टोरल कलेजको मत पाए छिन् । अधिकांश राज्यको मतगणना अन्तिम चरणमा पुगेको छ ।

निर्णायक मानिएका ७ वटा स्विङ स्टेटमध्ये ट्रम्पले ३ वटामा जित हात पारिसकेका छन् भने अरु ३ वटामा अग्रता लिइरहेका छन् ।

ट्रम्प पपुलर मतमा पनि अगाडि छन् । ट्रम्पले ६ करोड ९० लाख मत पाउँदा कमलाले ६ करोड ३८ लाख मत प्राप्त गरेकी छन्।

ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपति बन्न लागेका हुन् । यसअघि २०१६ मा राष्ट्रपति बनेका थिए भने २०२० मा हालका राष्ट्रपति जो बाइडनसँग पराजित भएका थिए ।

आफ्नो जित सुनिश्चित देखिएसँगै ट्रम्पले फ्लोरिडास्थित आफ्नो निर्वाचन अभियानको मुख्यालयमा उपस्थित समर्थकहरूको भिडलाई सम्बोधन गर्दै उनीहरूले भविष्यमा आजको दिनलाई फर्केर हेर्दा ‘आफ्नो जीवनको सबभन्दा महत्त्वपूर्ण दिनमध्ये एक मान्ने’ बताए।

‘अमेरिकाले हामीलाई अभूतपूर्व र बलियो जनादेश दिएको छ,’ उनले सिनेटमा पनि रिपब्लिकनको नियन्त्रण पुनर्स्थापित भएको तर्फ इँगित गर्दै भने।

अब सीमा व्यवस्थापन गर्ने, देशलाई (विभाजनको पीडाबाट) अघि बढाउने बताए। उनले आफ्नी श्रीमति मेलानियाका साथै परिवारका सदस्यहरूलाई धन्यवाद दिएका छन्।

उनले समर्थकहरूलाई गरेको सम्बोधनलाई आफ्नो विजय भाषणको रूपमा प्रयोग गरेका छन्।

मतपरिणामको आधिकारिक घोषणा भइसकेको छैन तर निर्वाचन परिणामका प्रक्षेपणहरूले ट्रम्प जितको नजिक पुगेको जनाइरहेका छन्।

खाद्य व्यवस्था कम्पनीद्धारा भिटामिनयुक्त चामल उत्पादन सुरू   Read Previous

खाद्य व्यवस्था कम्पनीद्धारा भिटामिनयुक्त चामल उत्पादन सुरू  

नेप्सेमा झिनो गिरावट, यी कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Next

नेप्सेमा झिनो गिरावट, यी कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट