मुग्लिन-पोखरा सकड : थपिएको समयमा पनि काम नसकिने, पश्चिमखण्डको अति सुस्त

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडकको काम थपिएको समयमा पनि नसकिने भएको छ । आयोजना अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा)को म्याद सकिन १ महिना (मंसिरसम्म) मात्रै बाँकी भए पनि अझै दुई तिहाई बढी काम बाँकी रहेको हो ।

त्यस्तै, पूर्वीखण्ड (आँबुखैरेनी–जामुने)को म्याद ४ महिना (फागुनसम्म) बाँकी रहँदा ३२ प्रतिशत काम बाँकी छ । आयोजनाका अनुसार हालसम्म हालसम्म पूर्वी खण्डको ६८ प्रतिशत र पश्चिम खण्डको ३१ प्रतिशत मात्र काम सकिएको छ ।

३ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी उक्त सडकको पूर्वी खण्ड २०७७ माघ १७ गते र पश्चिम खण्ड २०७८ जेठ २ मा सरकार र ठेकेदारबीच सम्झौता भएको थियो । तर, सम्झौता अनुसार काम नसकिएपछि फेरि १ वर्ष म्याद थपिएको थियो । सो समयमा पनि तोकिएको काम पूरा नहुने भएको हो ।

पूर्वीखण्डको अब एकतिहाईभन्दा कम काम बाँकी रहे पनि पश्चिमखण्डको भने दुई तिहाई बढी काम बाँकी छ ।
सरकारले समयमै साइट क्लियरेन्स नगर्दा र ठेकेदारले ढिलासुस्ती गर्दा कामले गति लिन नसकेको हो ।

४१.४५ किलोमिटर लामो पूर्वी खण्डमा हालसम्म दुई लेनको ६३ किलोमिटर सडक कालोपत्र गरिएको छ । आयोजनाको पूर्वी खण्डका अनुसार २९ किमी चारलेन र ५ किमी दुई लेनको सडकमा कालोपत्र गरिएको हो ।

तिहारको समयमा पनि काम भएको आयोजनाको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । ‘यस खण्डको हालसम्म ६८ प्रतिशत कार्य प्रगति भएको छ,’ उनले भने, ‘चाडवाड सकियो अब निर्माणले झन् गति लिन्छ ।’

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ को दमौली बजार र व्यास–५ को चापाघाट जोड्ने मादी नदी पुलको निर्माणको भौतिक प्रगति ४५ प्रतिशत पुगेको उनले जानकारी दिए । ३१५ मिटर लामो यस पुल ‘आर्क डिजाइन’को चार लेनको हुनेछ । आयोजनाका अनुसार पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले पुल डिजाइन गरिएको छ ।

पर्यटक पनि आकर्षित गर्ने भनी कलात्मक निर्माण गर्न लागिएको ठेकेदार कम्पनीका साइट इन्चार्ज दिनेश श्रेष्ठले जानकारी दिए। पुलको सातवटा ‘फाउन्डेसन’ निर्माण गरिएको छ । हाल पानीमुनि पाइलिङ, पाइल क्याप र पिलरको काम पूरा गरी पानीमाथि ‘सुपर स्ट्रक्चर’ निर्माण भइरहेको छ ।

हाल रहेको दुई लेनको पुलबाट करिब ५० मिटर उत्तरतर्फ नयाँ पुल निर्माण भइरहेको र पुल निर्माणका लागि १ अर्ब २१ करोडमा ठेक्का सम्झौता भएको आयोजनाको पूर्वी खण्डका इन्जिनियर पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार नेपालमै पहिलोपटक चार लेनको पुल निर्माण भइरहेको र तीन वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य छ ।

निर्माणाधीन सोही पुल नजिक दुई लेनको ३७० मिटर लामो पुलबाट हाल सवारी आवतजावत भइरहेका छन् । कूल ८१ किलोमिटर लम्बाइ रहेको मुग्लिन–पोखरा सडकको विस्तार विसं २०७८ वैशाखदेखि सुरु भएको हो । हाल उक्त राजमार्ग दुई लेनको छ ।

पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा पाएको छ । पश्चिम खण्डको निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा पाएको छ ।

वि.सं. २०२६ मा रेखाङ्कन गरिएको यस सडकमा सवारी चाप बढेसँगै एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउने कार्य भइरहेको छ । सडक विस्तार गर्दा सडक सीमा दुईतर्फी २५२५ मिटर हुनेछ भने सहरी क्षेत्र तथा बाक्लो बस्ती भएको स्थानमा ४१ मिटर चौडाइको सडक निर्माण हुनेछ ।

सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक निर्माण हुनेछ । दुलेगौँडाबाट खैरेनीटार बजारसम्म, कोत्रे बजारक्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ ।

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति Read Previous

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति

दुई हाइड्रोपावरको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ? Read Next

दुई हाइड्रोपावरको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?