चन्द्रप्रसाद ढकालद्धारा महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् । बागलुङमा शुक्रबारदेखि सुरुभएको बागलुङ महोत्सवबाटै उनले आफ्नो उमेद्वारी घोषणा गरेका हुन् ।

 

बागलुङ उद्योग वाणिज्य संघले उनको नाम महासंघको आगामी निर्वाचनको लागि प्रस्ताव गरेको थियो । उक्त प्रस्तावपछि महोत्सवलाई नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षका हैसियतमा सम्बोधन गर्दै उनले साथीहरुले महासंघको नेतृत्वमा आउन गर्नुभएको प्रस्ताव आफुलाई स्वीकार्य रहेको बताएका थिए ।

 

सम्बोधनका क्रममा उनले आफूले सानो व्यवसायदेखि आफ्नो व्यवसायिक यात्रा सुरु गरेको बताउँदै आगामी दिनमा साना तथा मझ्यौला एवं समग्र उद्योगी व्यवसायीको समस्या बुझेर काम गर्ने बताएका थिए ।

 

‘मेरो जीवन पनि तपाईँहरुजस्तै सानो तिनो पसल, उद्यम र सामान्य जागिरबाट शुरु भएर यहाँ पुगेको हो, त्यसैले साना व्यवसायीको पिरमर्का र अवस्थालाई अरुले भन्दा बढी महसुश गर्न सक्छु’, उनले भनेका थिए ।

 

उनले उद्योगी व्यवसायी साथीहरुको आशा र भरोसाको सम्बाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने ‘तपाईँहरुको मनोबल सधैँ उँचो बनाउने काममा लाग्नेछु र तपाईँहरुको सुख दुःखमा साथमा रहने प्रण गर्दछु ।’

 

नेपाल सरकारको सम्मृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न तथा सरकारले अघि सार्ने देश विकासका हरेक कार्यक्रममा सघाउन र सामाजिक न्याय सहितको तीव्र आर्थिक विकास र सुशासन सहितको जनउत्तरदायी राज्य व्यवस्थामा सघाउन निजी क्षेत्रको अहम भूमिका रहने र यसका लागि आफूले पैरवी गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

लिज अविध ६ वर्ष बाँकी छँदै गोकर्ण रिसोर्टको २५ वर्ष म्याद थप Read Previous

लिज अविध ६ वर्ष बाँकी छँदै गोकर्ण रिसोर्टको २५ वर्ष म्याद थप

यूरोपमा नेपाली जहाज कहिलेबाट उड्ला ? यस्तो छ सरकारी तयारी Read Next

यूरोपमा नेपाली जहाज कहिलेबाट उड्ला ? यस्तो छ सरकारी तयारी