काठमाडौं । नेपाल ट्रष्ट कार्यालयले गोकर्ण रिसोर्टको म्याद २५ वर्षका लागि थप गरेको छ । गोकर्ण रिसोटको पुरानो सम्झौताको म्याद ५ वर्ष ८ महिना अझै बाँकी रहेको छ । त्यस अगावै नै ट्रष्टले अर्को २५ वर्षका लागि सम्झौता गरेको हो ।
समयमा म्याद थपको निर्णय नगरे गोकर्णमा यति समूहले प्रयोग गरिरहेको २ हजार ७ सय ९३ रोपनी जग्गा गौचरण बन्ने भन्दै ५ वर्ष अगावै लिज अवधि थप गरिएको ट्रष्टका सहसचिव राजेश्वर ज्ञवालीले बताए ।
सुरुमा तत्कालिन राजकीय सम्पत्ति कार्यालयसँग सम्झौता भई उक्त गोकर्ण रिसोट २०५२ श्रावण ३१ गते एलएम सुभिर ब्रदर्श प्रालीलाई दिइएको थियो । पछिल्लो समय यति होल्डिङस्ले देवकोटा एण्ड कम्पनीको मूल्यांकन मार्फत ९४ लाख ७० हजार ३ सय ८ डलर मा लिजको माग गरेको थियो ।
फेरी चार्टड एकाउण्ट फर्मबाट भएको फेयर मार्केट भ्यालु अनुसार १ करोड ७ लाख ९५ हजार ७ सय ३० अमेरिक डलर हुनुपर्ने प्रतिवेदन आएको हो । सो रकम अनुसार यती ब्रदर्शले गरेको माग भन्दा १३ लाख २५ हजार ४ सय २३ ले बढि देखिएको हो ।
त्यसपछि संचालन समितिले कात्तिक ७ गते बसेको ४८ औं बैठकले पुन भाडादर पेस गर्न पत्रचार गरेपछि देबकोटा एण्ड कम्पनीले फेरी १ करोड ८ लाख २३ हजार २ सय ५ डल भाडादरमा पुनः प्रस्ताव गरेको थियो । सम्बन्धित सबैको सकरात्म सल्लामा सोही रकममा लिज दिइएको ट्रष्टले जनाएको छ ।
त्यस अनुसार ट्रष्टलाई लिज भाडादर बापत प्रत्यक्ष रुपमा १ अर्ब २२ करोड ३२ लाख ६४ हजार १ सय ६६ रुपैयाँ र कर्पोरेट कर वापत नेपाल सरकारलाई अप्रत्यक्ष रुपमा ३ अर्ब ९ करोड ६८ लाख २६ हजार ९२ रुपैयाँ गरी कुल ४ अर्ब ३२ करोड रुपैयाँका हाराहारीमा प्राप्त हुने देखिन्छ ।
हाल थप भएको म्याद अनुसार २०५० अगष्ट १५ गतेसम्मका लागि गोकर्ण रिसोट यति ब्रदर्शले सञ्चालन गर्न पाउने छन् ।