फाइनान्स कम्पनीको खराब कर्जा ३५% सम्म पुग्यो, सेयर मूल्य भने झन् उचालिँदै

काठमाडौं । फाइनान्स कम्पनीहरूको खराब कर्जा ३५ प्रतिशतसम्म पुगेको छ । अर्थतन्त्रमा आएको मन्दी र विगतमा जथाभावी लगानी गरिएको कर्जा समयमै ऋण असुली नहुँदा अधिकांश फाइनान्सहरूको खराब कर्जा ह्वात्तै बढेको हो ।

चालु आवको पहिलो त्रैमाससम्म फाइनान्स कम्पनीहरूको औसत खराब कर्जा राष्ट्र बैंकले तोकेको ५ प्रतिशतको सीमाभन्दा निकै माथि छ । असोज मसान्तसम्म फाइनान्स कम्पनीहरूको खराब कर्जा औसतमा ९.६५ प्रतिशत पुगेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३.१५ प्रतिशत बिन्दुले धेरै हो । गत वर्ष असोजसम्म फाइनान्सहरूको खराब कर्जा औसतमा ६.४९ प्रतिशत थियो ।

समीक्षा अवधिमा वित्तीय विवरण सार्वजनिक गरेका १५ मध्ये १२ फाइनान्स कम्पनीको खराब कर्जा बढेको छ भने ३ वटाको मात्र घटेको छ । समीक्षा अवधिमा नेपाल, प्रोग्रेसिभ र बेस्ट फाइनान्सले मात्रै खराब कर्जा घटाउन सफल भएका छन् ।

आर्थिक गतिविधि शिथिल हुँदा ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास आएको छ । ऋणीले समयमै ऋण नतिर्दा फाइनान्सहरूको खराब कर्जा बढेको हो । यद्यपि, अहिले फाइनान्स कम्पनीको मात्र नभई अधिकांश बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढेको छ ।

खराब कर्जा बढ्दा पनि फाइनान्सहरूको नाफा भने बढेको छ । नेपाल राष्ट्र बैंकले दिएको सहुलियतका कारण फाइनान्सहरूको नाफामा वृद्धि आएको हो । समीक्षा अवधिमा फाइनान्स कम्पनीहरूको कुल नाफा २० करोड ३६ लाख रुपैयाँ रहेको छ । जबकी गत वर्ष पहिलो त्रैमासमा फाइनान्सहरूको खुद नाफा ५६ करोड ३० लाख रुपैयाँ ऋणात्मक थियो ।

त्यस्तै, समीक्षा अवधिमा १२ फाइनान्सको वितरण योग्य नाफा ऋणात्मक छ । यस अवधिमा फाइनान्सहरूको वितरणयोग्य नाफा साढे २ अर्ब रुपैयाँ ऋणात्मक छ । मञ्जुश्री, आइसीएफसी र मल्टीपर्पस बाहेक अरु कुनै पनि फाइनान्सले लाभांश दिन सक्ने अवस्था छैन ।

९ फाइनान्सको खराब कर्जा सीमा माथि

समीक्षा अवधिमा १५ मध्ये ९ फाइनान्स कम्पनीको खराब कर्जा सीमा अर्थात् ५ प्रतिशत माथि छ । जसमा जानकी फाइनान्सको सबैभन्दा धेरै ३४.६४ प्रतिशत पुगेको छ ।

त्यसैगरी, समृद्धि फाइनान्सको खराब कर्जा २३.४७ प्रतिशत, पोखराको १४.४४ प्रतिशत, गुह्येश्वरी मर्चेन्टको १३.५६ प्रतिशत, गोर्खाको १३.४५ प्रतिशत, नेपालको १०.३६ प्रतिशत, सेन्ट्रलको ८.७१ प्रतिशत, रिलायन्सको ८.५८ प्रतिशत र प्रोग्रेसिभको ७.४७ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिमा ६ फाइनान्सको मात्र खराब कर्जा सीमाभन्दा तल छ । जसमा मञ्जुश्रीको सबैभन्दा कम ३.१२ प्रतिशत छ । त्यस्तै, श्रीइन्भेष्टमेन्टको ३.१९ प्रतिशत, आइसीएफसीको ३.६ट प्रतिशत, बेस्टको ३.९८ प्रतिशत, गुडविलको ४.९१ प्रतिशत र मल्टिपर्पसको ४.९७ प्रतिशत रहेको छ ।

खराब कर्जाले सीमा नाघेपछि राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गर्छ । साथै, लाभांश वितरण र व्यवसाय विस्तारमा समेत रोक लगाउन सक्छ ।

सेयर मूल्य भने उचालिँदै

वित्तीय रुपमा कमजोर रहे पनि फाइनान्स कम्पनीहरूको सेयर मूल्य भने अस्वभाविक रुपमा उचालिएको छ । सेयर बजार घट्दो क्रममा रहे पनि पछिल्लो समय अधिकांश फाइनान्सहरूको सेयर मूल्य उचालिएको छ ।

असोजसम्मको अवस्था हेर्दा १२ फाइनान्स कम्पनीले लाभांश दिन सक्ने अवस्था छैन । तर, सेयर संख्या कम भएकै कारण चलखेल गरी मूल्य अस्वभाविक रुपमा बढाइएको सेयर बजारका जानकारहरू बताउँछन् ।

फाइनान्स, विकास फाइनान्स, बीमा कम्पनीहरूको तुलनामा फाइनान्स कम्पनीहरूको सेयर संख्या न्यून छ । जसकारण केही स्वार्थ समूहले सजिलै चलखेल गर्ने गरेको देखिन्छ । लगानीकर्ताहरू पनि कम्पनीको वित्तीय अवस्थाभन्दा पनि लहड र हल्लाको भरका सेयर किनबेच गर्ने गरेको देखिन्छ ।

पछिल्लो ४ महिनामा अधिकांश फाइनान्सको मूल्य ५० प्रतिशतभन्दा धेरैले बढेको छ । केहीको दोब्बरभन्दा धेरैले समेत बढेको छ । फाइनान्सको सेयरमा तीव्र चलखेल हुने गरेको छ । बिनाकारण जसरी बढाइन्छ, त्यसरी नै घटाइने पनि गरिएको छ । जसकारण साना लगानीकर्ता फस्ने समेत गरेका छन् ।

एउटै नदीमा ५ जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा  Read Previous

एउटै नदीमा ५ जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा 

सुन र चाँदीको मूल्यले फेरि बनायो हालसम्मकै महँगोको रेकर्ड Read Next

सुन र चाँदीको मूल्यले फेरि बनायो हालसम्मकै महँगोको रेकर्ड