काठमाडौं । धेरै बढ्ने र बढेको तुलनामा कम घट्ने बाटो पछ्याइरहेको नेप्से यो हप्ता १७.७७ अंकले बढेको छ । यो हप्ता नेप्से ११४९ अंकमा खुलेको थियो भने कारोबारको अन्तिम दिन हिजो (बिहिबार) ११६७ अंकमा बन्द भएको छ ।
यो हप्ता ८५ लाख ९५ हजार कित्ता सेयर कारोबार भएको छ भने हप्ताभरिको कुल कारोबार रमक २ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । गत हप्ता कारोबार रकम २ अर्ब ८ करोड रुपैयाँ थियो । यो भनेको कारोबार रकममा ३५ प्रतिशतको बृद्धि हो ।
सदा झैं यो हप्ता पनि उच्च कारोबार वाणिज्य बैंकका सेयरको भएको छ । वाणिज्य बैंकहरुको १ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको छ । दोस्रो उच्च कारोबार भने उत्पादन तथा प्रशोधन क्षेत्रको भएको छ । यो क्षेत्रको ३६ करोड रुपैयाँको करोबार भएको छ ।
यो हप्ता सबैभन्दा धेरै कञ्चन विकास बैंकका लगानीकर्ताले कमाएका छन् । उनीहरुले २३.२४ प्रतिशतले कमाएका हुन् । यसैगरी दोस्रो धेरै कमाउनेमा सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ता छन् । उनीहरुले २१.६७ प्रतिशतले कमाएका हुन् । यो हप्ता छ्याङ्दी जलविद्युतका लगानीकर्ताले २०.२५ प्रतिशत कमाएका छन् भने विद्युत मसशुल तिर्नु नपर्ने भएपछि शिभम सिमेन्टका लगानीकर्ताले पनि १८.४७ प्रतिशतले कमाएका हुन् ।
यो हप्ता सबैभन्दा गुमाउनेमा सूर्य लाइफ इन्स्योरेन्सका लगानीकर्ता रहेका छन् । उनीहरुको यो हप्ता ४५ प्रतिशतले गुमाएका हुन् । नेपाल फाइनान्स र अरुण काबेलीका लगानीकर्ताले पनि क्रमशः १९ प्रतिशत र ९.१७ प्रतिशतले गुमाएका छन् ।
यो हप्ता सबैभन्दा धेरै कारोबार भने नेपाल बैंकको भएको छ । बैंकको ३२ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यो हप्ता धेरै कारोबार हुने अन्य दुई कम्पनीमा शिभम सिमेन्ट र नागरिक लगानी कोष रहेका छन् । उक्त दुई कम्पनीको क्रमशः २५ करोड ९२ लाख र १४ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ ।