काठमाडौं । सरकार र नेपाल राष्ट्र बैंकले अर्थतन्त्र क्रमशः चलायमान हुँदै गएको बताए वैदेशिक व्यापारमा भने सुधार आउन नसकेको देखिएको छ । बजारमा उपभोग्य वस्तुको माग बढ्न नसक्दा आयात र निर्यात दुवै खुम्चिएको हो ।
भन्सार विभागले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रोे महिना (साउन-असोज)को वैदेशिक व्यापार तथ्यांकले आर्थिक शिथिलता कायमै रहेको देखाएको हो ।
विभागका अनुसार चालु आवको तीन महिनामा कुल ३ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँ बराबरको विदेशी वस्तु आयात भएको छ । यो पछिल्लो ८ महिना अर्थात् गत फागुन यताकै कम हो ।
चालु आवको साउनको तुलनामा भदौमा आयात ६ अर्बले बढे पनि असोजमा फेरि ६ अर्बले नै घटेको छ । भदौमा १ खर्ब ३४ अर्ब रुपैयाँमा आयात भएकोमा असोजमा घटेर १ खर्ब २८ अर्ब रुपैयाँमा सीमित भएको छ ।
अर्थतन्त्रमा आएको शिथिलताका कारण उपभोग्य वस्तु र औद्योगिक कच्चा पदार्थको खपत घट्दा समग्रमा आयात घटेको हो । साथै, निर्माण गतिविधि न्यून भएकाले पनि आयातमा असर परेको हो ।
असोजमा दशैं, तिहार जस्ता ठूला चाडपर्वलाई लक्षित गरी आयात बढ्ने अनुमान गरिए पनि झन् घटेको छ । उपभोक्ताको क्रयशक्ति नबढ्दा बजारमा उपभोग्य वस्तुको माग बढ्न सकेको छैन । जसकारण आयात प्रभावित भएको हो ।
त्यस्तै, चीनतर्फका रसुवागढी र तातोपानी दुवै भन्सार नाकाबाट आयात नहुँदा पनि समग्र आयात घटेको हो । गत असोज दोस्रो साता आएको बाढीपहिरोले सडक र पुल बगाउँदा अझै यी नाकाबाट आयात हुन सकेको छैन ।
६ प्रतिशतले घट्यो निर्यात
चालु आवमा निर्यातमा पनि भारी गिरावट आएको छ । गत वर्षको असोजसम्मको तुलनामा चालु आवको सोही अवधिमा निर्यात ६.११ प्रतिशतले घटेको छ ।
यस वर्ष असोजसम्म ३८ अर्ब ३७ करोड रुपैयाँको निर्यात भएको छ । यो गत वर्षको तुलनामा २ अर्ब ४९ करोड रुपैयाँ कमको निर्यात भएको हो ।
व्यापार घाटा बढ्यो
गत वर्षको तुलनमा आयात घटे पनि व्यापार घाटा भने बढेको छ । आयातको तुलनामा निर्यात धेरै घट्दा व्यापार घाटा वृद्धि भएको हो ।
समीक्षा अवधिमा व्यापार घाटा ३.९६ प्रतिशतले बढेको छ । तीन महिनामा नेपालले ३ खर्ब ५२ अर्ब रुपैयाँ व्यापार घाटा व्यहोरेको छ ।
असोजसम्म कुल ४ खर्ब २९ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो गत वर्षको असोजकोे तुलनामा ४.३५ प्रतिशतले कम हो ।