काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यससाता सुरूका दुई दिनमै १०५ अंकले घटेर मंगलबार २५ अंकले बढेको नेप्से आज फेरि दोहोरो अंकले घटेको हो ।
बुधबार नेप्से परिसूचक २०.४१ अंकले घटेर २६४५.३९ बिन्दुमा आइपुगेको छ । यस दिन ३२४ कम्पनीको १ करोड ५७ लाख ४२ हजार ५१४ कित्ता सेयर किनबेच भएको छ ।
आज सूचकमा गिरावट आए पनि कारोबार रकम भने बढेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३८ करोड रुपैयाँले बढेर ६ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।
आज कारोबारमा आएका १३ वटा समूह मध्ये फाइनान्स र व्यापार बाहेक अरू सबै समूहको परिसूचक घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक २.३२ प्रतिशतले बढेको छ भने बैंकिङ १.७० प्रतिशतले घटेको छ ।
आज आइसीएफसी फाइनान्सको सर्वाधिक ४३ करोड ४४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, कुमारी बैंकको २६ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये ७६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५५ कम्पनीको मूल्य घटेको छ ।
आज आइसीएफसी फाइनान्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् । त्यस्तै, समृद्धि फाइनान्सका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएक छन् ।
आज महुली लघुवित्तका सेयरधनीले भने सर्वाधिक ४.२८ प्रतिशत गुमाएका छन् ।