काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाइरहेको छ । गत बुधबारदेखि दैनिक नयाँ रेकर्ड बनाउँदै आएको सुनको भाउले आज लगातार सातौं दिन नयाँ कीर्तिमान बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख ६६ हजार ७०० रुपैयाँ पुगेको छ ।
यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि मंगलबार सुनको भाउ प्रतितोला १ लाख ६५ हजार ९०० रुपैयाँ पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । इजरायल र इरान बीच बढ्दो तनावका कारण विश्वभरका लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य लगातार बढिरहेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ७३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँ बढेर २१३५ रुपैयाँमा कारोबार भइरहेको छ । यो पनि हालसम्मकै उच्च हो ।