साना सहकारीलाई एकीकरण गर्दै महानगर, साढे १८ सयबाट ७ सयमा झारिने

काठमाडौं । काठमाडौँ महानगरपालिले महानगरभित्र सञ्चालित सहकारी संस्थालाई एकापसमा एकीकरण गर्ने कार्यलाई तीव्रता दिएको छ ।

 

यस क्रममा बानेश्वर र पुतलीसडक क्षेत्रमा सञ्चालनमा रहेका सात सहकारीलाई एकीकरण गर्ने तयारी गरिएको कामपा प्रशासन विभागका प्रमुख नमराज ढकालले जानकारी दिए।

 

यसअघि कामपाभित्रका विभिन्न चार सहकारीलाई एकीकरण गरी दुई बनाइएको थियो । उनले मापदण्ड बाहिर सञ्चालित साना सहकारी धेरै रहेकाले व्यवस्थापन गर्न एकीकृत प्रणाली लागू गरिएको जानकारी दिए । सञ्चालनमा रहेका एक हजार ८५६ सहकारीलाई एकीकृत गरी ७०० बनाउने लक्ष्य लिइएको छ ।

 

सहकारी ऐन २०७४ तथा कामपाको सहकारी ऐन २०७४ मा एकीकृत गर्न सकिने प्रावधान रहेको छ । एकीकृत हुन दुई सहकारी एकअर्कामा तयार रहनुपर्छ । दुई महिनाअघि मात्र कापमाले वडा नं. २४मा रहेको विराज बचत तथा ऋण सहकारी र वडा नं. १३ को सप्तदीप बहुउद्देश्यीय सहकारीलाई एकापसमा एकीकरण गरी ‘सप्तदीप बचत तथा ऋण सहकारी संस्था’ सञ्चालन प्रक्रिया शुरु गरिएको थियो ।

 

त्यस्तै वडा नं २२ मा रहेको सिटीभिलेज बचत तथा ऋण सहकारी संस्था र ३२ वडाको तपस्वी बचत तथा ऋण सहकारीलाई एकीकरण गरी ‘सिटीभिलेज बचत तथा ऋण सहकारी संस्था’ सञ्चालन भइरहेको छ ।

 

एकीकृत हुने सहकारीले कामपाको सहकारी विभागमा निवेदन दिनुपर्छ । सर्वसाधारणलाई ठगी गरेको भन्दै सहकारीविरुद्ध ६० मुद्दा परेकामा ३५ को फछ्र्यौट भइसकेको विभागले जनाएको छ ।

 

यसैगरी कामपा २९ वडामा सञ्चालनमा रहेको युनाइटेड बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको छ । कामपा कार्यपालिका बैठकले एक महिनाअघि सो सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।

 

वि.सं. २०६४ मा दर्ता भएर सञ्चालनमा आएको सहकारीका सञ्चालक वि.सं. २०७४ बाट सम्पर्कविहीन भएको जनाइएको छ । प्रशासन विभाग प्रमुख ढकालका अनुसार सो सहकारीका सञ्चालक भागेपछि बचतकर्ताले महानगरमा निवेदन दिएका थिए ।

 

यसअघि सहकारीलाई समस्याग्रस्त घोषणा गर्न मन्त्रिपरिषद्मा लानुपर्ने कानूनी प्रावधान रहेको थियो ।

कर चुक्ता प्रमाणपत्र बनाउन नक्कली लेटरप्याड र छापको धन्दा नबढ्ला भन्न सकिन्नः दिपेन्द्रबहादुर क्षेत्री Read Previous

कर चुक्ता प्रमाणपत्र बनाउन नक्कली लेटरप्याड र छापको धन्दा नबढ्ला भन्न सकिन्नः दिपेन्द्रबहादुर क्षेत्री

भ्रमण वर्ष शुरुको दिन नेपाल आउने पहिलो पर्यटकलाई बग्गीमा राखेर घुमाइने Read Next

भ्रमण वर्ष शुरुको दिन नेपाल आउने पहिलो पर्यटकलाई बग्गीमा राखेर घुमाइने