जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले गत आर्थिक वर्ष २०८०/८१मा २४५ उद्योग तथा व्यवसायीलाई व्यवसाय कारोवार गर्न नयाँ नापतौल सम्बन्धी इजाजतपत्र प्रदान गरेको छ ।
सो कार्यालयले २ हजार ३६८ व्यवसायीको नापतौल यन्त्रको जाँचसमेत गरेको जनाएको छ । प्राप्त विवरणअनुसार तोकिएको मापदण्ड विपरीत ढक र तराजु प्रयोग गर्ने १ हजार ७१७ व्यापारीलाई कारबाही गरी जरिवानासमेत गरिएको कार्यालय प्रमुख मुकुन्द चौहानले बताए ।
धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली तथा रामेछापगरी कुल ५ जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले विभिन्न कारबाही, नापतौल यन्त्रको इजाजतपत्र प्रदान तथा नवीकरण बापत गत आर्थिक वर्षमा ४० लाख ६७ हजार २४२ रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ ।