लचिलो नीतिले फस्टाउँदै सेयर कर्जा लगानी, बैंकले १ महिनामै दिए ८.३२ अर्ब ऋण

"करोड बढी ऋण लिने १८% बढे"

काठमाडौं । सेयर कर्जा (मार्जिन प्रकृतिको) लगानीमा उछाल आएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा संस्थागत तर्फको २० करोडको सीमा खारेज गरेसँगै सेयर कर्जा लगानी ह्वात्तै बढेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार भदौ महिनामा मात्रै बैंक तथा वित्तीय संस्थाले कुल ८ अर्ब ३२ करोड १३ लाख रुपैयाँ सेयर कर्जा लगानी गरेका छन् । यो पछिल्लो ३ वर्ष यता कुनै पनि एक महिनामा लगानी भएको सबैभन्दा धेरै सेयर कर्जा हो ।

राष्ट्र बैंकका अनुसार साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल ९१ अर्ब ४४ करोड रुपैयाँ सेयर कर्जा लगानी गरेकोमा भदौ मसान्त आइपुग्दा बढेर ९९ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।

चालु आवको दुई महिनामै बैंकहरूले कुल ९ अर्ब ६७ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमा साउनमा १ अर्ब ३५ करोड रुपैयाँ मात्र लगानी गरेका थिए ।

अर्थतन्त्रमा आएको संकुचनका कारण अन्य क्षेत्रमा कर्जाको माग बढ्न सकेको छैन । तर, घट्दो ब्याजदर र नेपाल राष्ट्र बैंकको एकपछि अर्को नीतिगत लचकताका कारण सेयर कर्जा लगानी ह्वात्तै बढेको हो ।

करोड बढी ऋण लिने १८ प्रतिशतले बढे

चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ बढीको सेयर कर्जा लगानी ह्वात्तै बढेको छ भने ५० लाख रुपैयाँभन्दा कमको कर्जा लगानी घटेको छ । राष्ट्र बैंकका अनुसार चालु आवमा १ करोड बढीको सेयर कर्जा लगानी १७.९ प्रतिशतले बढेको छ । २०८१ असार मसान्तसम्म १ करोड बढीको कुल सेयर कर्जा ५५ अर्ब ९३ करोड रहेकोमा भदौ मसान्तमा आइपुग्दा बढेर ६५ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । दुई महिनामै १ करोड माथिको सेयर कर्जा १० अर्ब रुपैयाँले बढेको हो । राष्ट्र बैंकले संस्थागततर्फको २० करोडको सीमा हटाएसँगै ठूला लगानीकर्ताले धमाधम ऋण लिएर सेयर किन्न थालेको देखिन्छ ।

त्यस्तै, चालु आवमा ५० लाखदेखि १ करोड रुपैयाँसम्मको ऋण लगानी ३.२ प्रतिशत अर्थात् ३९ करोड रुपैयाँले बढेको छ । समीक्षा अवधिमा ५० लाख रुपैयाँभन्दा कमको सेयर कर्जा लगानी भने घटेको छ ।

२५ देखि ५० लाख रुपैयाँसम्मको कर्जा लगानी ३ प्रतिशत अर्थात् ४३ करोड ४० लाख रुपैयाँले घटेको छ । असार मसान्तसम्म यस्तो कर्जा लगानी १४ अर्ब ४२ करोड रुपैयाँ रहेकोमा भदौ मसान्त आइपुग्दा घटेर १३ अर्ब ९८ करोड रुपैयाँमा झरेको छ । त्यस्तै, २५ लाख मुनिको सेयर कर्जा लगानी ३.९ प्रतिशत अर्थात् २८ करोड ६९ लाख रुपैयाँले घटेको छ ।

चालु आवमा ठूला लगानीकर्ताले धमाधम ऋण लिएको देखिन्छ भने साना लगानीकर्ताले उल्टो तिरेको देखिन्छ । पछिल्लो समय सेयर बजारले क्रमशः गति लिन थालेसँगै लगानीकर्ताले ठूलो रकम लिन ऋण थालेकाले सानो रकमको कर्जा लगानी घटेको हो ।

लचिलो नीतिले फस्टाउँदै सेयर कर्जा लगानी

पछिल्लो समय नेपाल राष्ट्र बैंकको अपनाएको नीतिगत लचकता, घट्दो ब्याजदर, अधिक तरलता, अर्थतन्त्रका सूचकमा देखिएको सुधार लयागत कारणले सेयर धितो कर्जा लगानी बढेको हो ।

अर्थतन्त्रमा आएको शिथिलता कारण बजारमा उपभोग्य वस्तुको माग बढ्न नसक्दा उत्पादनमूलक, निमार्ण लगायत क्षेत्रमा कर्जाको माग बढ्न सकेको छैन भने अटो, घरजग्गा, सेयर कर्जाको माग भने बढ्दो क्रममा देखिएको छ । राष्ट्र बैंकको कडाइका कारण विगतमा सेयर कर्जा लगानी गर्न चासो नदिएका बैंकहरूले अहिले नीतिगत लचकतासँगै आक्रमक बन्न थालेका हुन् ।

राष्ट्र बैंकले गत वर्षदेखि सेयर धितो कर्जामा एकपछि अर्को नीतिगत लचकता अपनाउँदै आएको छ । सोही कारण सेयर कर्जाको माग र लगानी बढेको हो । राष्ट्र बैंकले आव २०७८/७९ को मौद्रिक नीति मार्फत सेयर कर्जामा ४/१२ करोड रुपैयाँको सीमा लगाएको थियो । त्यसको व्यापक आलोचना भएपछि २०७९/८० को मौद्रिक नीतिबाट ४ करोडको सीमा हटाएर एउटै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म ऋण लिन सक्ने व्यवस्था गरेको थियो ।

त्यस्तै, गत आवमा त्यसको सीमा बढाएर एक व्यक्तिले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोड ऋण लिन पाउने व्यवस्था गरेको थियो । चालु आवको मौद्रिक नीतिबाट संस्थागततर्फको २० करोडको सीमा पनि खारेज गरिदिएको छ ।

राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार पनि घटाएको छ । गत वर्ष मौद्रिक नीति मार्फत २५ लाखसम्मको सेयर धितो कर्जाको जोखिमभार शतप्रतिशत कायम गरेकोमा त्यसको सीमा बढाएर ५० लाख रुपैयाँ पुर्याएको थियो । त्यस्तै, ५० लाख बढीको सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट १२५ प्रतिशतमा झारेको थियो ।

अहिले बैंकिङ प्रणालीमा कायम अधिक तरलता र घट्दो ब्याजदरका कारण पनि सेयर कर्जा बढेको हो । कर्जाको माग नभएपछि बैंकहरूले महिनैपिच्छे ब्याजदर घटाइ रहेका छन् । अधिकांश बैंकले गत वर्षको कात्तिकदेखि नै निक्षेपको ब्याजदर घटाएका छन् । जसकारण बैंकको लागत घट्न गई कर्जाको ब्याजदर समेत घटेको छ । अहिले बैंकहरूको औसत बेसरेट ८ प्रतिशतमा झरिसकेको छ । बार्गेनिङ गर्न सक्ने ग्राहकले ९ प्रतिशत हाराहारीमै ऋण पाउने अवस्था छ । अर्थतन्त्रमा आएको सुधारले पनि लगानीकर्तालाई ऋण लिएर लगानी गर्न मनोबल बढेको देखिन्छ ।

लुक्लाको मौसम खराब हुँदा मन्थलीका होटल भरिभराउ, कोठा पाउनै मुस्किल Read Previous

लुक्लाको मौसम खराब हुँदा मन्थलीका होटल भरिभराउ, कोठा पाउनै मुस्किल

गौशाला धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको पत्र Read Next

गौशाला धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको पत्र