नागढुङ्गा सुरुङकाे ‘कंक्रिट लाइनिङ’ गर्ने काम सकियो, भौतिक प्रगित ८०% नाघ्यो

काठमाडौं । राष्ट्रिय गौरवको नागढुङ्गा सुरुङमार्गको कंक्रिट लाइनिङ ( सिलिङ ढलान) को काम सकिएको छ । नागढुंगा सुरुङमार्ग आयोजनाका अनुसार सुरुङमार्गको मुख्य र आपतकालीन दुवै सुरुङको कंक्रिट लाइनिङको काम सकिएको हो ।

आयोजनाको मुख्य सुरुङ २०८१ वैशाख ३ गते र आपतकालीन सुरुङ २०८० साउन २२ गते ब्रेक थ्रु गरिएको थियो । आयोजनाको मुख्य सुरुङ २६८८ मिटर र आपतकालीन सुरुङ २५५७ मिटर लामो छ । हालै ती सुरुङको कंक्रिट लाइनिङको काम समेत सकिएको हो ।

आयोजनाका उप निर्देशक सञ्जय पन्थीका अनुसार अहिले सुरुङमार्गमा फिनसिङका अन्य काम सँगसँगै भइरहेको छ । सुरुङमार्ग भित्र अक्सिजन, लाइट, भेन्टिलेसन, टेलिफोन, जेट पङ्खालगायतका संरचना जडानको काम पनि भइरहेको उनले जानकारी दिए ।

उनका अनुसार हालसम्म आयोजनाको समग्रमा भौतिक प्रगति ८०.५ प्रतिशत पुगेको छ । अब १९.५ प्रतिशत काम बाँकी छ । त्यस्तै, वित्तीयतर्फ ७४.७० प्रगिति भएको छ ।

सुरुङमार्ग अन्तर्गत निर्माण् गर्नुपर्ने संरचनामध्ये अब फ्लाइओभर मात्रै बनाउन बाँकी छ । हालसम्म फ्लाइओभरको ५ वटा सबस्ट्रक्चर निर्माण सम्पन्न भइसकेको छ भने सुपर स्ट्रक्चर निर्माण पनि धमाधम भइरहेको छ । फ्लाइओभर निर्माण ७० प्रतिशत सम्पन्न भएको छ । त्यस्तै, फ्लाइओभर निर्माणका लागि आवश्यक जग्गामध्ये ९५ प्रतिशत अधिग्रहण गरिसकिएको आयोजनाले जनाएको छ ।

आयोजना अन्तर्गत निर्माण गर्नुपर्ने १२ वटा संरचनामध्ये ११ वटा संरचनाको निर्माण पूरा भइसकेको छ । आयोजना अन्तर्गत ३ वटा अण्डर पास, ४ वटा कल्भर्ट, ३ वटा पुल र एउटा ओभरपास निर्माण सम्पन्न भइसकेको छ ।

बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने मुख टुटिपाखासम्म २.३०७ किमी दुई लेन सडक कालोपत्र अन्तिम चरणमा पुगेको छ । त्यसैगरी, धादिङको सिस्नेखोलातर्फ ७२५ मिटरमध्ये ४५० मिटर पहुँच मार्ग निर्माण भइसकेको छ ।

आयोजनामा पर्ने जग्गाको केही कित्ताको मुआब्जा विवाद, घर चर्किएको समस्या, रोड सर्भिस सेन्टर (आरएसएस) निर्माण लगायत केही चुनौती बाँकी रहेका छन् ।

सुरुङमार्ग संचालनमा आउन अझै करिब १ वर्ष लाग्न्े जनाइएको छ । यद्यपि, आयोजनाको काम सम्पन्न नभए पनि गत असोज १३ गते भने आपतकालीन रुपमा संचालनमा ल्याइएको थियो । झ्याप्लेखोलामा पहिरो गएर सडक अबरुद्ध भएपछि रोकिएका सवारीसधानलाई सुरुङमार्ग हुँदै पठाइएको थियो ।

आयोजनाका लागि पछिल्लो समय १८ महिना समय थप गरिएकोमा थप गरिएको १० महिना अझै बाँकी रहेको छ । उक्त अवधिमा आयोजना सम्पन्न हुने विश्वास लिइएको छ ।

यो सुरुङमार्ग निर्माणको ठेक्का जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले पाएको छ । २२ अर्ब रुपैयाँमा ठेक्का लागेको यो आयोजनामा साढे १६ अर्ब रुपैयाँ जापान सरकारले ऋण सहयोग गरेको छ । बाँकी ६ अर्ब रुपैयाँ नेपाल सरकारले लगानी गरेको छ ।

सवारीसाधन गुड्ने यो नेपालकै पहिलो सुरुङमार्ग हो । सुरुङ सञ्चालनमा आएपछि काठमाडौंको थानकोटबाट ३ मिनेटमै धादिङको सिस्नेखोला पुगिने छ । आयोजना अन्तर्गत एउटा मुख्य र अर्को आपतकालीन सुरुङ रहेका छन् । मुख्य सुरुङमा केही भवितव्य परिहालेमा आपतकालीन सुरुङबाट उद्धार गर्न सकिन्छ । आपतकालीन र मुख्य सुरुङ जोड्न ७ वटा क्रस प्यासेज निर्माण गरिएको छ ।

४२ महिनामा निर्माण सक्नेगरी २०७६ कात्तिक ४ गते शिलान्यास गरिएको थियो । सम्झौता अनुसार सुरुङमार्गको काम २०८० वैशाखामा सम्पन्न हुनुपथ्र्यो । सो समयमा नसकिएपछि कोभिडको कारण ढिलाइ भएकोभन्दै ३ महिना (२०८० साउन ४ गतेसम्म) म्याद थप गरिएको थियो ।

सो अवधिमा पनि काममा प्रगति नदेखिएपछि दोस्रो पटक २०८१ वैशाख १३ सम्म म्याद थपिएको थियो । सो अवधिमा पनि काम नसकिएपछि फेरि १८ महिना म्याद थपिएको छ ।

चुनाव लड्न ट्रम्पलाई एलन मस्कले १० अर्ब दिएको खुलासा Read Previous

चुनाव लड्न ट्रम्पलाई एलन मस्कले १० अर्ब दिएको खुलासा

नेप्सेमा उच्च अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Next

नेप्सेमा उच्च अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी