काठमाडौं । सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । मंगलबार ३१ अंकले बढेको नेप्से आज ४३ अंकले बढेको हो । विगत तीन सातादेखि बढ्दो क्रममा रहेको नेप्सेले यस साता पनि सोही लय कायम राखेको छ ।
बुधबार नेप्से परिसूचक ४३.२२ अंकले बढेर २७४२.८८ बिन्दुमा पुगेको छ । आज ३२० कम्पनीको १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता सेयर किनबेच भएको छ ।
सूचकसँगै आज कारोबार रकममा पनि उच्च वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम साढे २ अर्बले बढेर ५ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ व्यापार समूहको परिसूचक सबैभन्दा धेरै ३.४४ प्रतिशतले बढेको छ ।
आज नेपाल फाइनान्सको सर्वाधिक १५ करोड ९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको १५ करोड ४ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये २०६ कम्पनीको सेयर मूल्य बढेको छ भने ३५ कम्पनीको मूल्य घटेको छ ।
बढ्दो बजारमा आज विजय लघुवित्तका सेयरधनीले सर्वाधिक ९.३३ प्रतिशत कमाएका छन् । इस्टर्न हाइड्रोपाव ९.२४ प्रतिश, समता लघुवित्त ८.६२ प्रतिशत, आत्मनिर्भर लघुवित्त ८.५९ प्रतिशत, सगरमाथा जलविद्युत् ७.४५ प्रतिशत, हिमालयन हाइड्रोपावर, इङवा हाइड्रोपावर र पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज अपर स्याङ्गे हाइड्रोपावरका सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।