‘कोपोमिस’ कार्यान्वयनमा सहकारी उदासीन, २ वर्षमा ९ सय मात्र अनलाइन प्रणालीमा आए

काठमाडौं । सहकारी तथा गरिबी निवारणसम्बन्धी सूचना प्रणाली (कोपोमिस) कार्यान्वयनको क्रममा रहेको छ । सरकारले २०७५ देखि स्थानीय तह तथा प्रदेशबाट कोपोमिसको कार्यान्यन गर्न थालेको हो ।

 

देशभर ३४ हजार पाँच सयभन्दा बढी सहकारीहरु सञ्चालनमा रहेकोमा हालसम्म ९ सय ८१ सहकारीले कोपोमिसमा आफ्ना सदस्यता ‘इन्ट्री’ गर्न थालेका छन् ।

 

सदस्यता इन्ट्री नगरे पनि चालू आर्थिक वर्षको मंसिर महिनासम्ममा २ हजार ७ सय १२ सहकारीले वित्तीय विवरण कोपोमिसद्धारा बुझाएको सहकारी विभागले जानकारी दिएको छ ।

 

कोपोमिसमा इन्ट्री भएका सहकारीहरुले हालसम्म १७ सय ९५ पटक ‘लगइन’ गरेका छन् ।देश संघीय संरचना गएपछि सहकारीहरुका सबै कागजी सामग्रीहरु डिजिटलाइज गरी विभागले ‘युजर नेम’ र ‘पासवर्ड’ सबै स्थानीय तहलाई दिएको विभागका सूचना अधिकारी शशिकुमार लम्सालले बताए ।

 

हाल सहकारी विभाग भए पनि नेपालमा कुल कति सहकारी छन् र तिनले के कस्ता काम गरिरहेका छन् भन्ने विषयमा यकिन तथ्यांक रहेको छैन ।यकिन तथ्यांक नहुँदा यसलाई प्रभावकारी बनाउने र हरेक सहरकारीका विषयमा सबैलाई जानकारी रहोस भन्ने लक्ष्यका साथ सरकारले कोपोमिस बनाएको हो ।

 

हालसम्म नेपालभर रहेका सहकारीमध्ये बचत तथा ऋण सहकारी १३ हजार ५ सय २३ र कृषि सहकारी ९ हजार ७ सय ९१ वटा रहेका छन् ।

 

कुन प्रदेशमा कति वटा सहकारी कोपोमिसमा इन्ट्री भए ?

 

नेपालभर हालसम्म ९ सय ८१ सहकारीले सदस्यता इन्ट्री गर्न थालेका छन् ।प्रदेश ३ः प्रदेश तीनका सहकारीहरुले कोपोमिसमा सबैभन्दा बढी सदस्यता इन्ट्री गराउन थालेका छन ।

 

हालसम्म प्रदेश तीन भित्र पर्ने ४ सय १९ सहकारीले आफ्ना सदस्यता इन्ट्री गर्न थालेका हुन् । प्रदेश २ मा सबैभन्दा कम सहकारीले सदस्यता इन्ट्री सुरु गरेका छन् । हालसम्म प्रदेश २ का २४ सहकारीले सदस्यता इन्ट्री गर्न थालेका हुन् ।

 

यस्तै, सुदुरपश्चिम प्रदेशका ७३ सहकारीले सदस्यता इन्ट्री सुरु गरेका छन्  भने कर्णाली प्रदेशका ४७ सहकारीले सदस्यता इन्ट्री सुरु गरेका छन् ।  प्रदेश पाँचका १ सय ४  र गण्डकी प्रदेशका १ सय ६५ सहकारीले सदस्यता इन्ट्री सुरु गरेका छन् ।

 

प्रदेश ७ का १ सय ४९ वटा सहरकारीले सदस्यता इन्ट्री सुरु गरेका छन् ।

 

अनलाइनबाटै वित्तीय विवरण बुझाउने 

 

कोपोमिसमा आउने सबै सहकारीले मासिक तथा वार्षिक वित्तीय विवरण अनलाइनबाटै  बुझाउन सक्छन् । कोपोमिसमा इन्ट्री हुन ९ सय ८१ वटा सरकारी मात्र आएका भए पनि २ हजार ७ सय १२ सहकारीले वित्तीय विवरण कोपोमिस मार्फत बुझाइसकेका छन् ।

 

वित्तीय विवरण बुझाउन सदस्यता इन्ट्री नभए पनि हुने भएकाले इन्ट्री भएकाभन्दा बढी सहकारीले कोपोमिस मार्फत वित्तीय विवरण बुझाएका हुन् । सुदुरपश्चिम प्रदेशका ३१ सहकारीले वित्तीय विवरण कोपोमिस मार्फत बुझाएका छन् ।

 

हाल कोपोमिस सहकारी विभाग, सहकारी संघ संस्था, सहकारी डिभिजन लगायतले मात्र पासवर्ड र युजर नेम राखेर चलाउन पाउँछन् ।सहकारी विभागले चालू आवभित्र सर्वसाधरणले हेर्न मिल्ने र प्रयोग गर्न मिल्ने गरी कोपोमिसलाई अद्यावधिक गर्न लागेको छ ।

 

कणली प्रदेशका १ सय ३० सहकारीले वित्तीय विवण बुझाएका छन् । प्रदेश पाँचका २ सय सहकारी, गण्डकी प्रदेशका २ सय ४३ सहकारी, प्रदेश ३ का १ हजार ६ सय २२ सहकारी, प्रदेश २ का ३ सय ४० सहकारी र प्रदेश १ का १ सय ४६ वटा सहकारीले हालसम्म वित्तीय विवरण बुझाएका हुन् ।

 

चालू आर्थिक वर्षभित्रै सर्वसाधारणले कोपोमिस चलाउन पाउने

 

हाल कोपोमिस सहकारी विभाग, सहकारी संघ संस्था, सहकारी डिभिजन लगायतले मात्र पासवर्ड र युजर नेम राखेर चलाउन पाउँछन् ।सहकारी विभागले चालू आवभित्र सर्वसाधरणले हेर्न मिल्ने र प्रयोग गर्न मिल्ने गरी कोपोमिसलाई अद्यावधिक गर्न लागेको छ ।

 

उक्त अपडेटका लागि ठेक्का आव्हान गरिएको थियो भने हाल त्यो मूल्याङ्कनको चरणमा रहेको विभागले जनाएको छ ।कोपोमिसको माध्यमबाट वित्तिय विवरण अद्यावधिक भएपछि सर्वसाधारणले सहकारीका पूँजी, ऋण, कर्मचारीलगायत आफ्ना खाताका विषयमा समेत जानकारी लिन पाउने छन् ।

 

स्थानीय तहलाई कोपोमिस बारे थाहै छैन

 

सरकारले सबै प्रदेशमा कोपोमिस सञ्चालनका लागि तालिम गरेपनि कतिपय स्थानीय तहलाई कोपोमिसको बारेमा थाहै नभएको समेत पाइएको छ । केही स्थानीयहरु कोपोमिसमा आउन सुरु गरे पनि केहीलाई यस बारेमा थाहा नै नभएको विभागका एक अधिकारीले बताए ।

 

७ सय ६० स्थानीय तहलाई १ वर्ष अगाडीनै पासर्वड र युजर नेम सहित पत्राचार गरीसकेको भए पनि अझै धेरै स्थानीय तहहरु यस विषयमा अनविज्ञ छन् ।

 

के हो कोपोमिस ?

 

सहकारी तथा गरिबी निवारणसम्बन्धी सूचना प्रणालीलाई नै अंग्रेजीमा छोटकरीमा कोपोमिस भन्ने गरिन्छ ।  सहकारी विभाग भए पनि हालसम्म नेपालमा कुल कति सहकारी छन् र तिनले के कस्ता काम गरिरहेका छन् भन्ने विषयमा यकिन तथ्यांक रहेको छैन ।

 

यकिन तथ्यांक नहुँदा यसलाई प्रभावकारी बनाउने र हरेक सहरकारीका विषयमा सबैलाई जानकारी रहोस भन्ने लक्ष्यका साथ सरकारले कोपोमिस बनाएको हो ।

 

यसमा सबै सहकारीहरु आउने हो भने नेपालभर भएका सहकारी तथा त्यसमा संलग्न रहेका मानिसहरुको प्रत्यक्ष तथ्यांक लिन सकिन्छ ।

 

कोपोमिसमा सबै सहकारी आउने हो भने कोपोमिस मार्फत हरेक सहकारीका जानकारी अपडेट हुनेछ । सहकारीमा हुने जानकारी लिन व्यक्ति सहकारी धाउनु पर्ने अवस्था रहँदैन ।

 

सहकारीले अपडेट गर्ने तथ्यांकका आधारमा विभाग तथा स्थानीय तहले डिजिटल माध्यमबाटै सहरकारीलाई निरीक्षण गरिरहेको हुनेछ ।

बैंकिङ क्षेत्रमा कुनैपनि किसिमको हड्ताल नगर्न अदालतको आदेश Read Previous

बैंकिङ क्षेत्रमा कुनैपनि किसिमको हड्ताल नगर्न अदालतको आदेश

गाईघाटमा सिटिजन्स बैंककाे एटीएम सेवा शुभारम्भ Read Next

गाईघाटमा सिटिजन्स बैंककाे एटीएम सेवा शुभारम्भ