काठमाडौं । नेपाली काँग्रेसका सांसद विनोद चौधरीले उखुको समर्थन मूल्य तोक्न सरकारसँग माग गरेका छन् । सांसद चौधरीले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र कृषिमन्त्री रामनाथ अधिकारीलाई भेटेर किसानका समस्याका बारेमा ध्यानाकर्षण गराएका हुन् ।
उनले समयमै उखुको समर्थन मूल्य नतोक्दा किसान निराश बनेका बताए । गत वर्ष सरकारले तोकेको अनुदानापतको रकम किसानले अझै नपाएको र केही चिनी मिलले पनि किसानलाई हालसम्म भुक्तानी नदिएको उनले बताए ।
उनले उखुको न्यूनतम मूल्य प्रतिक्विन्टल ७३५ र ढुवानीबापतको सरकारले प्रदान गर्ने अनुदान प्रतिक्विन्टल १०० गरी ८३५ रुपैयाँ कायम गर्न प्रस्ताव समेत गरेका छन् ।
साथै, उनले कृषकले पाउने मलको कोटा बढाउन समेत माग गरेका छन् । सांसद चौधरीको निर्वाचन क्षेत्र नवलपरासी–१ उखु खेतीका निम्ति पकेट क्षेत्र मानिन्छ ।