आर्थिक क्षेत्रमा विद्यमान लैङ्गिक विभेदको खाडल पुर्न अझै २५७ वर्ष लाग्ने

काठमाडौं । मंगलबार सार्वजनिक गरिएको एक रिर्पोटका अनुसार समान ज्याला वा तलबको लागि महिलाहरुले सन् २२७७ सम्म कुर्नुपर्ने भएको छ । परिर्वतनको अहिलेको गतिलाई आधार मान्दा आर्थिक संलग्नता र अवसरको दृष्टिकोणले महिला र पुरुषबीच विद्यमान खाडल पुरिन अझै २५७ वर्ष लाग्ने रिर्पोटले अनुमान गरेको हो । गत वर्ष यो अवधि २०२ वर्ष थियो, विश्व आर्थिक मञ्चको ‘ग्लोबल जेन्डर ग्याप रिर्पोट’का अनुसार ।

 

रिर्पोटले आर्थिक, राजनीतिक, शैक्षिक र स्वास्थ्यको क्षेत्रमा विद्यमान लैङ्गिक असमानताको मापन गरेर १ सय ५३ देशहरुलाई सोहि बमोजिम सूचीकृत गरेको छ । यी सबै ४ वटा सूचकहरुको आधारमा भने लैङगिक विभेदको अन्त्य हुन झण्डै १ सय वर्ष लाग्ने रिर्पोटले अनुमान गरेको छ ।

 

यो सूचीको आधारमा आइसल्याण्ड लगातार ११ वर्षसम्म अन्य देशहरुको तुलनामा लैङ्गिक विभेद सबैभन्दा कम भएको देश भएको छ । लैङगिक विभेद कम भएका अन्य देशहरुमा नर्वे, फिनल्याण्ड र स्विडेन र निकारागुवा रहेका छन् । लैङगिक विभेद एकदमै बढी भएको देश भने यमन रहेको छ ।

 

आर्थिक क्षेत्रमा लैङ्गिक विभेद बढ्नुमा महिलाहरुले गर्ने धेरै प्रकारका कामहरु स्वचालित मेसिनहरुले गर्न थालेपछि उनीहरुको आर्थिक संलग्नता कम हुनु, धेरै तलब र भत्ता हुने प्रविधिका क्षेत्रमा महिलाहरुको प्रवेश कम हुनु, महिलाहरुले पुरुषको तुलनामा ठ्याक्कै दुईगुणा समय हेरचाह र स्वंयसेवी कार्यहरुमा खर्च गर्ने लगायतका कारण रहेका छन् ।

 

अमेरिका सूचीको ५३ औं स्थानमा रहेको छ । रिर्पोटले अमेरिकामा मध्यम र उच्च तहको व्यवस्थापनको भूमिकामा महिलाहरुको राम्रो उपस्थिति रहको छ । तर, कार्यकारी तहमा भने महिलाहरुको उपस्थिति सन्तोषजनक नभएको रिर्पोटले जनाएको छ ।

 

अमेरिकी कम्पनीहरुको सञ्चालक समितिमा महिलाहरुको संख्या २१.७ प्रतिशत रहेको छ । शिक्षाको क्षेत्रमा अमेरिकाले राम्रो गरेको छ । सबै तहमा गरेर ९० प्रतिशत महिलाहरुले शैक्षिक संस्थामा भर्ना लिएका छन् भने उच्च तहमा पुरुषहरुको भन्दा महिलाहरुको संख्या धेरै छ ।

 

आर्थिक क्षेत्रमा बढेको लैङगिक विभेदका विभिन्न कारणहरु रिर्पोटले औंल्याएको छ । महिलाहरुले गर्ने धेरै प्रकारका कामहरु स्वचालित मेसिनहरुले गर्न थालेपछि उनीहरुको आर्थिक संलग्नता कम भएको रिर्पोेटले औंल्याएको छ । दोस्रो, धेरै तलब र भत्ता हुने प्रविधिका क्षेत्रमा महिलाहरु कम प्रवेश गर्ने गरेका कारण पनि आर्थिक विभेद बढेको रिर्पोटले जनाएको छ ।

 

साथै, महिलाहरुले पुरुषको तुलनामा ठ्याक्कै दुईगुणा समय हेरचाह र स्वंयसेवी कार्यहरुमा खर्च गर्ने गरेका छन् । पूँजीमा कम पहुँच भएका कारण पनि महिलाहरुमा उद्यमशीलताको विकास पुरुषको तुलनामा कम हुने गरेको रिर्पोटले जनाएको छ ।

 

शिक्षा र स्वास्थ्यमा भने लैङगिक विभेद कम भएको रिर्पोटले जनाएको छ । यी दुई क्षेत्रमा करिब ९५ प्रतिशत लैङ्गिक विभेद अन्त्य भइसकेको रिर्पोटले दाबी गरेको छ ।

 

चार वटा क्षेत्रमा सबैभन्दा बढी लैङ्गिक विभेद राजनीतिको क्षेत्रमा भएको रिर्पोटले जनाएको छ । गत वर्षको तुलनामा यसमा थारै सुधार भएको छ । राजनीतिक क्षेत्रको विभेदको खाडल जम्मा २४.७ प्रतिशतमात्र पुरिएको छ । यो वर्ष महिलाहरुले विश्वव्यापी रुपमा प्रतिनिधि सभामा २५.२ प्रतिशत हिस्सा ओगटे भने २१.२ प्रतिशत मन्त्री पदमा पुगेका छन् ।

चिनी उद्योगबाट चलान पुर्जी पाएपछि धमाधम उखु काट्दै किसान Read Previous

चिनी उद्योगबाट चलान पुर्जी पाएपछि धमाधम उखु काट्दै किसान

सेयर बजारमा झिनो अंकको गिरावट, ५९ करोडको कारोबार Read Next

सेयर बजारमा झिनो अंकको गिरावट, ५९ करोडको कारोबार