काठमाडौं । उपत्यकाबासीले दशैंमा मेलम्चीको पानी खान पाउने भएका छन् । आज (मंगलबार) बिहानदेखि मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण गरिने भएको हो ।
मेलम्चीका सङ्घर्ष समिति र खानेपानीमन्त्री प्रदीप यादवबीच सोमबार भएको वार्तामा काठमाडौंमा मेलम्चीको पानी पठाउने सहमति भएको हो ।
मन्त्री यादवले हेलम्बु गाउँपालिकाको मेलम्ची गएर सङ्घर्ष समिति एवं त्यहाँका सरोकारपक्षसँग वार्ता गरेका हुन् । दशैं अगाडि काठमाडौंवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाएका मन्त्री यादवसहितको टोली वार्ताका लागि मेलम्ची पुगेको थियो ।
मन्त्री यादवसहितको टोली र मेलम्चीका सङ्घर्ष समितिबीच पानी काठमाडौँमा लैजाने विषयमा भएको वार्तामा सङ्घर्ष समितिले राखेका जायज मागहरूलाई सम्बोधन गरिने सहमति भएपछि मेलम्चीको पानी काठमाडौँ आउने भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए ।
निर्देशक लामिछानेले भने, ‘मेलम्चीको पानी काठमाडौँमा ल्याउने विषयमा सङ्घर्ष समितिसँग सहमति भएको छ । मेलम्चीबाट भोलिदेखि सुन्दरीजलमा पानी पथान्तरण गरिनेछ ।’
उनका अनुसार सहमतिअनुसार आयोजना पुनःनिर्माण तथा स्थानीय यातायातका लागि बाह्रै महिना सञ्चालन हुने सडक निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा स्रोत सहमतिको प्रस्ताव पेस गर्नेगरी अबको तीन महिनाभित्र बहुवर्षीय ठेक्का प्रक्रिया अगाडि बढाउने गरी खानेपानी मन्त्रालयले पहल गर्नेछ ।
त्यस्तै,, हेलम्बुमा २०७८ सालमा आएको बाढीबाट प्रभावितहरुको पुनर्स्थापना, सडक, पुल तथा भौतिक संरचना निर्माण तथा पानीको महसुलको निश्चित प्रतिशत रकम हेलम्बुको विकासमा लगाउने सम्बन्धी सहमति भएपछि स्थानीयले पानी सुरुङमा प्रवेश गराउन दिने भएका हुन् ।
आफ्नो माग पूरा नएभएसम्म पानी लैजान नदिने भन्दै स्थानीय बाढी प्रभावितले मुहान क्षेत्रमा भेला भएर केही समयदेखि नाराजुलुस गर्दै आएका थिए ।
कार्यकारी निर्देशक लामिछानेका अनुसार हिजोकै मितिदेखि बाढी पीडित सङ्घर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाडौं उपत्यकामा पानी पथान्तरण गर्नको लागि मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको छ ।
मेलम्चीको पानी पहिलो पटक २०७७ चैतमा काठमाडौंमा ल्याए पनि सोही वर्षदेखि नै बाढीपहिरोको चपेटामा पर्दै आएको छ ।