दोधारा चाँदनी सुक्खा बन्दरहगाह निर्माणको बाटो खुल्यो, लागत पौने ६ अर्ब

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि बाटो खुलेको छ ।

सरकारको यही असोज २ गतेको मन्त्रिपरिषद् बैठकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको ४२.३६ हेक्टर जमिन सुक्खा बन्दरगाहका लागि प्रयोग गर्न दिने निर्णय गरेसँगै चर्चाको डेढ दशकपछि सुक्खा बन्दरगाह निर्माण प्रक्रिया सुरु भएको हो ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका इञ्जिनियर अनिश केसीले मन्त्रिपरिषद्को निर्णपछि सुक्खा बन्दरगाह निर्माणका लागि बाटो खुलको जानकारी दिए। ‘सुक्खा बन्दरगाह निर्माणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जमिन प्रयोग गर्न दिने निर्णय भएको छ,’ उनले भने, ‘अब सुक्खा बन्दरगाह निर्माण प्रक्रिया छिट्टै अघि बढ्छ ।’

इञ्जिनियर केसीका अनुसार सुक्खा बन्दरगाह निर्माण हुने जमिनको सट्टाभर्ना शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई दिनुपर्ने हुन्छ । ‘उक्त जग्गा सट्टाभर्ना वा सो जग्गा बराबरको मूल्य हामीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई  दिनुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसपछि निकुञ्ज कार्यालयले रुख कटानको आदेश दिन्छ ।’

उनका अनुसार बन्दरगाह निर्माण हुने मायापुरी सामुदायिक वनमा एक हजार सात सय दुई रुख काटिनेछन्  । ‘सुक्खा बन्दरगाह भारत सरकारले आर्थिक र प्राविधिक सहयोगमा निर्माण हुन्छ,’ इञ्जिनियर केसीले भने, ‘अब हामीले छिट्टै यताको प्रक्रिया अगाडि बढाउने र भारतले पनि बोलपत्र आह्वान प्रक्रिया अगाडि बढाउँछ ।’

बन्दरगाह निर्माण सुरु भएको तीन वर्षभित्र कामसक्ने भारतीय पक्षले जनाएको छ । सुक्खा बन्दरगाह निर्माणका लागि ५ अर्ब ७५ करोड लागत अनुमान गरिएको छ ।

सुक्खा बन्दरगाहमा दुई वटा गोदाम भवन, भन्सार जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवनलगायत पूर्वाधार निर्माण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ ।

विसं २०६४ मा पहिलो पटक सरकारले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको प्रस्ताव गरेको थियो । त्यसपछि पटकपटक अध्ययनका लागि टोली आए पनि काम अगाडि बढ्न सकेको थिएन । सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिममी नाका सञ्चालनमा आए सम्भावनाको ढोका खुल्ने यहाँका व्यवसायीहरु बताउँछन् ।

अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरू Read Previous

अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरू

नेप्सेमा उच्च अंकको वृद्धि, परिसूचक २६५० माथि उक्लियो Read Next

नेप्सेमा उच्च अंकको वृद्धि, परिसूचक २६५० माथि उक्लियो