कुखुराको मासु र अण्डाको मूल्य निर्धारण

बेझाड । कुखुरा तथा अण्डाको बजार मूल्य नपाएर हैरानी खेपेका रामपुरका कृषक बजार मूल्य निर्धारण भएपछि उत्साहित भएका छन् । लागत नै नउठ्ने गरी बिक्री गर्न बाध्य यहाँका कुखुरापालक कृषक निश्चित मूल्य कायम भएपछि खुशी छन् ।

 

जिउँदो ब्रोइलर कुखुराको मूल्य प्रतिकिलो २०० रुपैयाँ, मासु प्रतिकिलो थोक ३०० रुपैयाँ र खुद्रा मूल्य प्रतिकिलो ३४० रुपैयाँ दरभाउ कायम गरिएको रामपुर नगरपालिका पशुसेवा शाखा प्रमुख मोहनप्रसाद भट्टराईले बताए ।

 

ठूला अण्डाको खुद्रा मूल्य प्रतिपेटी दुई हजार ३००रुपैयाँ, साना अण्डाको दुई हजार २०० रुपैयाँ मूल्य कायम भएको छ । थोक मूल्य ठूला अण्डाको प्रतिपेटी दुई हजार २०० रुपैयाँ र साना अण्डाको दुई हजार १०० रुपैयाँ मूल्य कायम भएको छ ।

 

“कृषकले लागतअनुसार मूल्य नै नउठ्ने गरी कुखुरा बिक्री गर्छुभन्दा पनि बिक्री गर्न नसक्ने अवस्था, बाहिरबाट सस्तो मूल्यमा कुखुरा भित्रने र यहाँको उत्पादनले बजार नपाउदा कृषक मारमा परेको गुनासो आएपछि सरोकारवालाको बैठक बसेर निश्चित दरभाउ कायम गरेका छौँ”, उनले भने ।

 

कुखुरापालन व्यवसायबाट राम्रो आम्दानी गर्ने सोच बनाएका कृषकले लगानी पनि नउठ्ने गरी दिन खोज्दा व्यापारीले खरिद गर्न आलटाल गर्ने गरेको व्यवसायी कृषक मेगराज न्यौपाने बताउँछन् । अहिले भने निश्चित दरभाउ कायम गरेपछि व्यवसायमा हौसला बढेको उनी बताउँछन् ।

 

रामपुर कुखुरापालक कृषक समूहका अध्यक्ष धातानन्द अर्यालले बाहिरबाट कुखुरा सस्तो मूल्यमा व्यापारीले खरिद गर्ने र महङ्गो मूल्यमा उपभोक्तालाई बेच्ने प्रवृत्तिले स्थानीय उत्पादनले बजार नपाएको बताउँछन् । “अब मूल्य कायम गरिएपछि कृषकले ठूलो राहत पाएको महसुस गरेका छन्, यसलाई नियमित अनुगमन र बाहिरबाट भित्रने कुखुरा निरुत्साहित नै पूर्ण रुपमा गर्न सकियो भने कृषकको पनि आयस्रोत बढ्नेछ”, अर्यालले भने ।

 

जिउँदो कुखुराको मूल्य प्रतिकेजी १६० को हाराहारीमा बिक्री गर्न खोज्दा पनि बजार नपाएर हैरानीमा परेका कृषक अब भने निश्चित दरभाउ कायम भएपछि उत्साहित भएका छन् । अण्डा उत्पादक कृषक पनि बिचौलियाको चरम मारमा छन् । स्थानीय उत्पादनले बजार पाउँदैन तर बाहिरबाट ल्याइएका अण्डाले रामपुर बजार ढाकेको छ । निश्चित दरभाउ कायम गरिएपछि व्यवसायमा हौसला बढेको अण्डा व्यवसायी भुवन अर्यालको भनाइ थियो ।

 

“बाहिरबाट आएका अण्डाले बजार भाउ लिइरहेको, स्थानीय उत्पादनले बजार नपाउने समस्याले व्यवसाय गर्ने कि छाड्ने अवस्थामा रहेकाबेला रामपुर नगरपालिकामा ढिलै भए पनि दरभाउ तोकिएकोमा खुशी लागेको छ”, अर्यालले भने ।

 

रामपुर बजारमा दैनिक आठ हजार अण्डा खपत भइरहेको छ । रामपुर नगरपालिकाभित्र अण्डा उत्पादन गर्ने चार वटा व्यावसायिक फार्म छन् । यहाँ दैनिक पाँच हजार अण्डा उत्पादन हुने गरेको छ तर बजार पाउन सकस छ । यहाँ उत्पादन भएको अण्डा प्रतिगोटा ९ मा बिक्री भइरहेपनि उपभोक्ताले भने रु १५ मा खरिद गर्न बाध्य थिए । अहिले कुखुराको दानाको मूल्य बढेको छ ।

 

रामपुर नगरपालिकालाई कुखुरामा आत्मनिर्भर गराउन बाहिरबाट यहाँ भित्रने कुखुराहरु कम गरी यहीको उत्पादनलाई प्राथमिकता दिएपछि कृषक आत्मनिर्भर हुने आर्थिक विकास समितिका संयोजक तथा नगर प्रवक्ता हुमनाथ न्यौपाने बताउँछन् ।

 

“रामपुरको उत्पादनले बजार थेग्न सक्ने अवस्था हुँदासम्म बाहिरबाट कुखुरा ल्याएर किनबेच गर्ने कार्यलाई रोक्ने अभियानमा छौँ र बाहिरबाट ल्याउन लैजान परेमा पशुसेवा शाखाबाट अनुमती लिनुपर्नेछ”, उनले भने ।रासस

नेपालको कम्प्युटर प्रणाली असुरक्षित, ७५३ वटै स्थानीय तहको 'अकाउन्ट सिस्टम ह्याक' Read Previous

नेपालको कम्प्युटर प्रणाली असुरक्षित, ७५३ वटै स्थानीय तहको 'अकाउन्ट सिस्टम ह्याक'

राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण विधेयक स्वीकृत Read Next

राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण विधेयक स्वीकृत