विश्व बजारमा आकाशियो कच्चा तेलको भाउ, ३ दिनमै १० प्रतिशत बढ्यो

काठमाडौं । यस साता विश्व बजारमा कच्चा तेलको भाउ ह्वात्तै बढेको छ । इरान-इजरायल बीच युद्ध हुने सम्भावना बढेसँगै कच्चा तेलको भाउ १० प्रतिशतसम्म बढेको हो ।

शुक्रबार (साढे १२ बजेसम्म) विश्व बेन्चमार्क ब्रेन्ट क्रुड आयलको भाउ प्रतिब्यारेल ७७.६० डलर पुगेको छ । जबकि मंगलबार (३ दिन अघि) यसको भाउ प्रतिब्यारेल ७०.१७ डलर थियो । ३ दिनमै ब्रेन्ट क्रुडको भाउ १०.५८ प्रतिशतले बढेको हो ।

त्यसैगरी, आज ओपेक बेन्चमार्क डब्ल्यूटीआइ क्रुड आयलको भाउ ७३.७० डलर पुगेको छ । ३ दिन अघि यसको भाउ प्रतिब्यारेल ६६.६६ डलर थियो । डब्ल्यूटीआइ क्रुडको भाउ पनि ३ दिनमै १० प्रतिशतभन्दा धेरैले बढेको छ ।

त्यस्तै, मुर्बान क्रुड आयलको भाउ पनि ३ दिनमै बढेर ७०.१६ डलरबाट बढेर ७७.२५ डलर पुगेको छ ।

तेलको भाउ ह्वात्तै बढ्नुमा माग र आपूर्तिको कारण नभई इजरायले इरानमा माथि आक्रमण गर्न सक्ने सम्भावना रहनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन् ।

इरानले सोमबार इजरायलमा भीषण रुपमा मिसाइल आक्रमण गरेको थियो । लगत्तै इजरायले जवाफमा इरानले त्यसको चर्को मूल्य चुकाउनु पर्ने चेतावनी दिएको थियो । इजरायले इरानको तेल उत्पादन केन्द्रमै आक्रमण गर्ने योजना बनाइरहेको बताइएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानको तेल उद्योगमा इजरायलको सम्भावित आक्रमणबारे अमेरिकाले छलफल गरिरहेको बताएपछि तेलको भाउ बढेको बीबीसीले जनाएको छ ।

इरानको तेल केन्द्रमा आक्रमण गर्न इजरायललाई समर्थन गर्नुहुन्छ भनेर सोधिएको प्रश्नमा बाइडेनले आफूहरूले त्यसमा छलफल गरिरहेको बताएका छन् । सोही कारण विश्व बजारमा तेलको भाउ ह्वात्तै आकाशिएको हो ।

इरान विश्वको सातौं ठूलो तेल उत्पादक देश हो । जसले आफ्नो उत्पादनको आधाभन्दा धेरै हिस्सा विदेश निर्यात गर्छ ।

धितोपत्र बोर्डको अध्यक्ष छनोट अनिश्चित, फेरि अन्तर्वार्ता स्थगित Read Previous

धितोपत्र बोर्डको अध्यक्ष छनोट अनिश्चित, फेरि अन्तर्वार्ता स्थगित

ग्लोबल आइएमई बैंकका ग्राहकले मणिपाल अस्पतालमा १००% सम्म छुट पाउने Read Next

ग्लोबल आइएमई बैंकका ग्राहकले मणिपाल अस्पतालमा १००% सम्म छुट पाउने