नेपालबाट बंगलादेश बिजुली निर्यातको बाटो खुल्यो, भयो त्रिपक्षीय सम्झौता

" यी दुई आयोजनाको लैजाने"

काठमाडौं । नेपालले बंगलादलेशलाई बिजुली बिक्री गर्ने बाटो औपचारिक रुपमा खुलेको छ । बिहीबार नेपाल, भारत र बंगलादेशका तीन कम्पनी बीच विद्युत् बिक्री सम्बन्धी सम्झौता भएको हो ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभपलमेन्ट बोर्ड (बीपीडीबी) तथा भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच त्रिपक्षीय ऊर्जा बिक्री सम्झौता (पीएसए) भएको हो ।

सम्झौतामा नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङ, बीपीडीबीका अध्यक्ष मो. रेजुल करिम र एनभीभएनकी सीईओ रेनु नारंगले हस्ताक्षर गरेका छन् ।

समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, बङ्गलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा थियो । यस्तै, सो अवसरमा दुवै देशका उच्च सरकारी अधिकारीको समेत उपस्थिती थियो ।

यससँगै नेपालले तेस्रो मुलुकमा पहिलोपटक विद्युत् निर्यात गर्ने भएको हो । नेपालले ३ वर्षदेखि भारतलाई बिजुली बेच्दै आएको छ । नेपालले पहिलो चरणमा बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्ने छ । नेपालको बिजुली बंगलादेशले भारतको प्रसारण लाइन हुँदै लैजाने छ ।

यसअघि गत असारमा नै विद्युत् व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिएको थियो । तर, बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण नेपाल, भारत, बङ्गलादेशका ऊर्जामन्त्रीको उपस्थितिमा सम्झौताको तयारी गरिए पनि अन्तिम समयमा आएर स्थगित भएको थियो ।

प्राधिकरणले वर्षायामको ६ महिना अर्थात हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म ५ वर्षसम्म ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बङ्गलादेशलाई बिक्री गर्नेछ । प्रतियुनिट ६.४० अमेरिकी सेन्ट (८ रुपैयाँ ६४ पैसा)मा  प्राधिकरणले बिजुली बिक्री गर्नेछ ।बंगलादेश पुग्दा प्रतियुनिट लागत ७.६ अमेरिकी सेन्ट पुग्नेछ ।

नेपाल र भारतबीच विद्युत् आयात निर्यातका लागि हाल सञ्चालनमा रहेको ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय लाइन हुँदै भारतीय भूमिमा रहेको बहरामपुर–भेरमारा ४०० केभी प्रसारण लाइन हुँदै बिजुली बङ्गलादेश जानेछ । प्राधिकरणले तोकिएको मूल्य भारतको मुजफ्फरपुर बिन्दुमा पाउनेछ । प्रसारण लाइनको ढल्केबर-मुजफ्फरपुरबीचको प्राविधिक चुहावट भने प्राधिकरणले नै व्यहोर्ने छ ।

प्राधिकरणले भारतीय कम्पनी एनभीभीएनलाई बिजुली उपलब्ध गराउने छ । सोही कम्पनीले नेपाली बिजुली बङ्गलादेश पुर्याउने छ ।

बङ्गलादेश सरकारले सन् २०४० सम्म नेपालबाट ९ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ । नेपाल र भारतबीच पनि १० वर्षमा १० हजार बिजुली निर्यात गर्नेसम्बन्धी दीर्घकालीन सम्झौता भइसकेको छ ।

दुई देशका ऊर्जा सचिवस्तरीय संयन्त्रको पहिलो बैठक २०७५ मङ्सिर १७ र १८ मा काठमाडौँमा सम्पन्न भएको थियो । सोही बैठकमा नेपालको बिजुली बङ्गलादेश लैजान सहजीकरण गर्ने विषयमा प्रारम्भिक छलफल भएको थियो । त्यसअघि २०७५ साउन २५ गते तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र बङ्गलादेशका विद्युत् ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदबीच विद्युत् क्षेत्रमा द्विपक्षीय सहकार्य सुरुआत गर्ने प्रयोजनार्थ एक समझदारीमा हस्ताक्षर भएको थियो ।

यस्तै, दुई देशबीच सुनकोशी तेस्रो जलविद्युत् आयोजना (नेपाल, बङ्गलादेश र भारतबीच) सहकार्यपूर्ण सहभागिताका आधारमा विकास गर्ने र सो आयोजना विकास गर्ने सम्बन्धमा प्राधिकरण र बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गर्नेसम्बन्धी संयुक्त उपक्रम सम्झौता आगामी सचिवस्तरीय संयन्त्रको बैठक अगावै टुङ्गो लगाउने सहमति भएको छ ।

नेपाल र बङ्गलादेशबीच विद्युत् व्यापारका लागि प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनको प्राविधिक र आर्थिक पक्षको अध्ययन हुने भएको छ । नेपालको जलविद्युत् क्षेत्रमा लगानी प्रवर्द्धनका लागि बङ्गलादेशको निजी क्षेत्रलाई आकर्षित गर्न आवश्यक पहल गरिनेछ । त्यस्तै नेपाल, बङ्गलादेश र भारतबीच विद्युत् व्यापार, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायत विद्युत् क्षेत्रमा सहकार्यका लागि द्विपक्षीय बैठकमा त्रिपक्षीय संयन्त्र बनाउन आ–आफ्नोतर्फबाट पहल गरिनेछ ।

यी दुई आयोजनाको बिजुली पठाइने

प्राधिकरणले भारतीय अनुदानमा निर्माण भएका तथा आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बङ्गलादेश निर्यात गर्नेछ ।

नेपाल र भारतबीचको पहिलो अन्तर देशीयढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारणलाइन हुँदै बङ्गलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतको मुजफ्फरपुर विन्दुमा पाउने छ । अर्थात बङ्गलादेश निर्यात हुने विद्युत्को मिटर मुजफ्फरपुरमा रहने छ ।

ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारणलाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्ने छ । मुजफ्फरपुरबाट भारतको प्रसारणलाइनमार्फत बहरामपुर (भारत)–भेरमारा (बङ्गलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् पुग्नेछ ।

 

नेप्सेमा सूर्योदय वोमी लघुवित्तको बोनस सेयर  सूचीकृत Read Previous

नेप्सेमा सूर्योदय वोमी लघुवित्तको बोनस सेयर सूचीकृत

२१ वर्षपछि फिर्ता भयो पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला Read Next

२१ वर्षपछि फिर्ता भयो पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला