काठमाडौं । चिनियाँ भू-भागको केरूङ–रसुवागढी सडकखण्ड संचालनमा आउन अझै डेढ महिना लाग्ने भएको छ । केरूङ–रसुवागढी खण्डमा पहिरोले सडक पूर्ण क्षति भएपछि उक्त खण्ड पुनः सञ्चालनका लागि करिब डेढ महिना लाग्ने चिनियाँ पक्षले जानकारी दिएको हो ।
जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रहरी प्रमुख केशव भट्टराईले केरूङ प्रशासनले रसुवाका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाललाई सडक निर्माण गर्न ४०-४५ दिन लाग्ने जानकारी गराइसकेको बताए
यसैबीच, केरूङबाट दशैंका लागि आवश्यक पर्ने दैनिक उपभोग्य वस्तुसहित कपडा बोकेर आएका २०० कन्टेनर भन्सार हातामा रहेका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।
ती कन्टेनरका सामग्री यथाशीघ्र काठमाडौँ पठाउने तयारी भएको जनाउँदै विद्युत् अभावले जाँचपास गर्न समस्या भइरहेको उनले बताए ।
साथै, १५० बढी विद्युतीय सवारीसाधन समेत टिमुरे क्षेत्रमा रहेका भन्सार कार्यालयले जनाएको छ । यही असोज १० गतेसम्म आयात सामग्रीको शुल्कबाट रु १ अर्ब राजस्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत भट्टराईले जानकारी दिए । चिनियाँ भागमा पहिरो गएकाले सडक सञ्चालन गर्न समय लाग्ने चिनियाँ समकक्षीले भन्सार कार्यालयलाई जानकारी गराइसकेका उनले उल्लेख गए।
सडक अवरूद्ध हुँदा सामान आयात हुन नसकेपछि लक्षित राजस्व असुलीमासमेत कमी आउने देखिएको प्रमुख भट्टराइले जानकारी दिए ।
पहिरोले ८ कन्टेनरमा क्षति
रसुवाको टिमुरेभन्दा दक्षिण तातोपानी नजिक रोकिएर राखिएका आठ वटा कन्टेनर डिब्बामा सुख्खा पहिरोले क्षति भएको छ । केरूङतर्फ सामान लिन जान पालो कुरेर रोकी राखिएका ती कन्टेनर डिब्बामा मङ्गलबार राति आएको सुख्खा पहिरोले क्षति पुर्याएको हो ।
भारी वर्षाले अवरूद्व स्याफ्रुबेंसी–रसुवागढी खण्डको सडक मङ्गलवार खुलेसँगै केरूङमा सामान लिन गएका ती कन्टेनर डिब्बा केरूङतर्फको भूभागमा सडक बन्द भएको जानकारी पाएपछि पार्किङ अभाव अभावका कारण सडक छेउमा राखिएको थियो ।
रोकेर राखिएका कन्टेनरका डिब्बामा क्षति भएपछि पार्किङ गरेर राखिए का अन्य कन्टेनर आ–आफ्ना घरतर्फ फर्काउन सबै सवारी धनीलाई अनुरोध गरिएको जिल्ला प्रहरी प्रमुख भट्टराईले जानकारी दिए । यसअघि पहिरोले अवरुद्ध भएको सडक मङ्गलबार सञ्चालन भएपछि केरूङ जानका लागि ४० वटा कन्टेनर टिमुरे क्षेत्रमा प्रवेश गरेका प्रहरीले जनाएको छ ।
स्याफ्रुबेँसी, टिमुरेको तातोपानी, टिमुरे घट्टेखोला क्षेत्रको भूभाग कमजोर भएकाले पहिरोको जोखिम उच्च रहेको भन्दै सामान बोकी आएका मालवाहक कन्टेनर भन्सार हातामा मात्र राख्न रसुवा जाने सबै चालकलाई अनुरोध गरिएको प्रहरी प्रमुख भट्टराईले बताए ।
सुरक्षित पार्किङको अभाव भएका टिमुरे, रसुवागढी क्षेत्रमा केरूङतर्फको सडक नखुलेसम्म स्याफ्रुबेँसीबाट सवारीसाधन कहिन नलैजान अनुरोध गरिएको उनले उल्लेख गए।