वैकल्पिक मार्गबाट दिक्तेल-काठमाडौं बस सेवा संचालन, भाडा कति ?

खोटाङ । खोटाङ यातायात प्रालिले तत्कालका लागि दिक्तेलबाट घुर्मी–सिन्धुली–बर्दिवास–हेटौँडा हुँदै काठमाडौंसम्मको नियमित बस सेवा सञ्चालन गर्ने भएको छ ।

दसैँको पूर्वसन्ध्यामा बाढीपहिरोले मध्यपहाडी लोकमार्गअन्तर्गतको दिक्तेल–घुर्मी–खुर्कोट हुँदै काठमाडौं आवतजावत गर्ने सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गका रुपमा असोज–१६ गतेदेखि दिक्तेलबाट घुर्मी–सिन्धुली–बर्दिबास–हेटौँडा हुँदै काठमाडौंसम्मको बस सेवा सञ्चालन हुने भएको हो ।

क्षतिग्रस्त सडक तत्काल सञ्चालनमा आउने सम्भावना नदेखिएपछि वैकल्पिक रूपमा दिक्तेलबाट घुर्मी–सिन्धुली–बर्दिवास–हेटौँडा हुँदै काठमाडौँसम्मको बस सेवा सञ्चालन गर्ने निर्णय गरिएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले जानकारी दिए ।

‘केही दिनअघिको भीषण वर्षाका कारण बाढी तथा पहिरो जाँदा मध्यपहाडी लोकमार्गमा पर्ने सडकखण्डको विभिन्न ठाउँमा ठूलो क्षति पुगेको छ । दसैँअघि दिक्तेल–घुर्मी–खुर्कोट सडक पुनःसञ्चालनमा आउने सम्भावना छैन,’ उनले भने, ‘सडक अवरुद्धका कारण दसैँ तथा तिहार मान्न घर फर्कने हजारौँ यात्रु काठमाडौँमा रोकिएका छन् । उनीहरुको सुविधाका लागि वैकल्पिक मार्गमा काठमाडौँसम्म बस सेवा सञ्चालन गर्ने निर्णय गरिएको हो ।’

दिक्तेलबाट काठमाडौं तथा काठमाडौंदेखि दिक्तेलसम्मको एकतर्फी भाडाप्रति व्यक्ति २ हजार ५०० रुपैयाँ तोकिएको खोटाङ यातायात प्रालिले जनाएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट घुर्मी–सिन्धुली–बर्दिवास–हेटौँडा हुँदै काठमाडौँ पुग्नका लागि दिक्तेल–घुर्मी–खुर्कोट–काठमाडौँभन्दा दोब्बर लामो हुने जनाइएको छ ।

लामो दूरी भए पनि चाड मान्न घर फर्कने यात्रुहरुको बाध्यतालाई मध्यनजर गरेर खोटाङ यातायात प्रालिले दिक्तेल–घुर्मी–सिन्धुली–बर्दिबास–हेटौँडा हुँदै काठमाडौँसम्मको बस सेवा सञ्चालन गर्ने भएपछि राहत मिल्ने अनुमान गरिएको छ ।

सगरमाथा राष्ट्रिय राजमार्ग अन्तर्गत खोटाङबाट पूर्वी तराईका जिल्ला जोड्ने दिक्तेल–गाईघाट सडक भने, दसैँ, तिहार तथा छठ पर्वअघि सञ्चालन नहुने निश्चित भएको छ । यही असोज–१२ गते शनिबार दिउँसो आएको बाढीले सुनकोसीस्थित फोक्सिङटारको मोटरेबल पक्की पुल बगाएपछि दिक्तेल–गाईघाट सडकखण्ड भएर पूर्वी तराई जोड्ने यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको हो ।

बाढी तथा पहिरोका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गअन्तर्गतकै दिक्तेल–जयरामघाट सडकखण्डको अवरोध भने हटाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवा र महादेवस्थान बर्खेटारको पहिरो हटाइएपछि सोमबार साँझदेखि दिक्तेल–कटारी–बिराटनगर यातायात सञ्चालनमा आएको हो ।

पहिरो पन्छाइएसँगै दिक्तेल–घुर्मी–कटारी हुँदै विराटनगरसम्मको बस मङ्गलबारदेखि नियमित रुपमा सञ्चालन गरिएको खोटाङ यातायात प्रालिका महासचिव हिङ्माङले जानकारी दिए । मध्यपहाडी लोकमार्गअन्तर्गतकै दिक्तेल–चखेवाभञ्ज्याङ सडकको अवरोध हटाउनेबारे अध्ययन गर्न प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ नेतृत्वको टोली चखेवा पुगेको छ ।

बाढी तथा पहिरोले अवरुद्ध जिल्लास्थित ग्रामीण सडक पनि खुलिसकेका छैनन् । अवरुद्ध सडक दसैँ, तिहार तथा छठ पर्वअघि नै पुनः सञ्चालनमा ल्याउनेगरी सम्बन्धित स्थानीय तहले काम गरिरहेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जानकारी दिएका छन् ।

नेपाल र बंगलादेशका सहसचिवस्तरीय बैठक सम्पन्न, भोलि विद्युत् व्यापार सम्झौता हुने Read Previous

नेपाल र बंगलादेशका सहसचिवस्तरीय बैठक सम्पन्न, भोलि विद्युत् व्यापार सम्झौता हुने

१५ बैंकको बेसरेट ८ प्रतिशतभन्दा कम, यी हुन् सबैभन्दा सस्तोमा ऋण दिने बैंक Read Next

१५ बैंकको बेसरेट ८ प्रतिशतभन्दा कम, यी हुन् सबैभन्दा सस्तोमा ऋण दिने बैंक