
काठमाडौं । सेयर बजारमा उछाल आएको छ । आज बजार खुलेदेखि लगातार उकालो लागेको नेप्से अन्त्यमा ११४ अंकले बढेर बन्द भएको हो ।
गत असार १७ गते एमाले र काँग्रेस मिलेर सरकार बनाउने सहमति गरेसँगै नेप्से डेढ महिनामै १ हजार अंकले बढेको थियो । तर, भदौदेखि लगातर ओरालो लागेको नेप्से डेढ महिनामै झण्डै ५५० अंकले घटेको थियो । अहिले करेक्सन सकिएर फेरि नेप्सले लय समात्न थालेको लगानीकर्ता बताउँछन् ।
पछिल्ला दुई कारोबार दिनमै नेप्सेले १५८ अंकको छलाङ मारेको छ । अहिले अर्थतन्त्रका अधिकांश सूचकहरू सेयर बजार अनुकूल रहेका छन् । । राष्ट्र बैंकले पनि एकपछि अर्को नीतिगत अंकुश हटाउँदै लगेको छ । बैंकिङ प्रणलीमा अधिक तरलता कायम छ भने ब्याजदर साढे २ वर्ष यताकै सस्तो भएको छ । यसले आगामी दिनमा बजारले गति लिने लगानीकर्ताको अपेक्षा छ ।
मंगलबार नेप्से परिसूचक ११४.७० अंकले बढेर २६२३.५६ बिन्दुमा पुगेको छ । आज ३०७ कम्पनीको १ करोड ७५ लाख ७ हजार ५५५ कित्ता सेयर किनबेच भएको छ ।
सूचकसँगै आज कारोबार रकममा पनि उछाल आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम दोब्बरले बढेर ७ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।
आज कारोबारमा आएका १३ ओटै समूहको परिसूचक बढेको छ । फाइनान्स कम्पनीको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । यस समूहको परिसूचक सर्वाधिक ९.७४ प्रतिशतले बढेको छ । त्यस्तै, व्यापार, विकास बैंक, होटल र हाइड्रोपावर समूहको परिसूचक ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज एनएलजी इन्स्योरेन्सको सर्वाधिक २८ करोड ८२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको २३ करोड ५० लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये २४३ कम्पनीको सेयर मूल्य बढेको छ भने एउटा मात्र कम्पनीको मूल्य घटेको छ ।
उच्च अंकले बढेको बजारमा आज झण्डै २ दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बुटवल पावर, गोर्खा फाइनान्स, गुडविल फाइनान्स, श्री इन्भेष्टमेन्ट, सेन्टर फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाइनान्स, गुह्येश्वरी मर्चेन्ट, आइसीएफसी, प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
त्यसैगरी, रिलायन्स फाइनान्स, अरुण काबेली, दोदी खोला, इस्टर्न हाइड्रोपावर, सिटी होटल, थ्रीस्टार हाइड्रोपावर, नेपाल वेयरहाउजिङ, हिमाल दोलखा, मन्जुश्री फाइनान्स र नेपाल फाइनान्सका सेयरधनीले पनि १० प्रतिशत कमाएका छन् ।